गोलबजारका तत्कालीन मेयर–उपमेयरसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा
१० कात्तिक, काठमाडौं । सिराहाको गोलबजार नगरपालिकामा हाटबजारको राजस्व छुट र असुलीमा अनियमितता गरेको आरोपमा तत्कालीन नगरप्रमुख देवनाथ साहु तेलीसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०७७/७८ र २०७८/७९ मा पशु हाटबजार, बाख्रा हाटबजार तथा गुदरी हाटबजारको ठेक्का र राजस्व सङ्कलनमा अनियमितता गरी सार्वजनिक सम्पत्तिमा १ करोड ६० लाख ४६ हजार ३४४ रुपैयाँ १० पैसा हानिनोक्सानी पुर्याएको अभियोगमा मंगलबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो ।
अख्तियारका अनुसार मुद्दा दायर गरिएकामा गोलबजार नगरपालिकाका तत्कालीन नगरप्रमुख तेली, उपप्रमुख रेशम कुमारी थापा, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत श्रीधर केसी, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अनन्त कुमार पौड्याल, तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत रामनारायण महतो, तत्कालीन राजस्व शाखा प्रमुख दिनेश कुमार सहनी र हाटबजार ठेकेदार वीरेन्द्र कुमार यादव छन् ।
२७ लाखभन्दा बढी राजस्व छुट दिएको आरोप
अख्तियारको अनुसन्धानअनुसार गोलबजार नगरपालिकाले आर्थिक वर्ष २०७७/७८ मा वडा नम्बर ६ र ७ मा सञ्चालित पशु हाटबजार, बाख्रा हाटबजार तथा गुदरी हाटबजारको राजस्व सङ्कलन गर्ने जिम्मेवारी वडा नम्बर ८ का ठेकेदार वीरेन्द्र कुमार यादवलाई अमानतमा दिएको थियो ।
नगरपालिकाको २०७८ साउन ४ गतेको कार्यपालिका बैठकले बुझाउनुपर्ने राजस्वमध्ये २७ लाख ३४ हजार ९१३ रुपैयाँ छुट दिने निर्णय गरेको अख्तियारको आरोप छ ।
अख्तियारका अनुसार उक्त निर्णय नगरपालिकाको आर्थिक ऐन, प्रचलित कानुन र नगरसभाबाट मात्रै कर छुट दिन सकिने कानुनी व्यवस्थाविपरीत थियो ।
त्यसैगरी, २०७८ साउन १४ गतेको कार्यपालिका बैठकले पशु हाटबजार, बाख्रा हाटबजार र गुदरी हाटबजारको राजस्व सङ्कलनको जिम्मेवारी प्रतिस्पर्धाबिनै सोझै अमानतमा ठेकेदार यादवलाई दिने निर्णय गरेको आयोगको दाबी छ ।

एक करोड ३३ लाख राजस्व असुल नगरेको दाबी
आर्थिक वर्ष २०७८/७९ मा ठेकेदार यादवबाट असुल गरी नगरपालिकाको सञ्चित कोषमा दाखिला गर्नुपर्ने १ करोड ३३ लाख ११ हजार ४३१ रुपैयाँ १० पैसा असुल नगरेको अख्तियारले जनाएको छ ।
आयोगका अनुसार आर्थिक वर्ष २०७७/७८ मा दिइएको २७ लाख ३४ हजार ९१३ रुपैयाँ राजस्व छुट र आर्थिक वर्ष २०७८/७९ मा असुल नगरिएको १ करोड ३३ लाख ११ हजार ४३१ रुपैयाँ १० पैसा जोड्दा कुल १ करोड ६० लाख ४६ हजार ३४४ रुपैयाँ १० पैसा सार्वजनिक सम्पत्तिमा हानिनोक्सानी भएको देखिएको छ ।
अख्तियारले प्रतिवादीहरूले आपसी मिलेमतोमा सार्वजनिक सम्पत्तिमा हानिनोक्सानी पुर्याई गैरकानुनी लाभ लिने बदनियतले काम गरेको आरोप लगाएको छ ।
नगरप्रमुखलाई थप सजायको मागदाबी
अख्तियारले तत्कालीन नगरप्रमुख तेली, उपप्रमुख थापा, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत श्रीधर केसी र राजस्व शाखा प्रमुख दिनेश कुमार सहनीविरुद्ध जनही १ करोड ६० लाख ४६ हजार ३४४ रुपैयाँ १० पैसा बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम सजायको मागदाबी गरेको छ ।
त्यस्तै, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अनन्त कुमार पौड्याल र तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत रामनारायण महतोविरुद्ध जनही १ करोड ३३ लाख ११ हजार ४३१ रुपैयाँ १० पैसा बिगो कायम गरी सजायको माग गरिएको छ ।
हाटबजार ठेकेदार यादवलाई भने मुख्य कसुरदारहरूलाई बिगो कायम गरी सजाय हुने आधारमा मतियारका रूपमा मुख्य कसुरदारसरह सजाय गर्न मागदाबी लिइएको अख्तियारले जनाएको छ ।
तत्कालीन नगरप्रमुख तेलीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २४ बमोजिम थप सजाय गर्नसमेत आयोगले माग गरेको छ ।
अख्तियारका प्रवक्ता सुरेश न्यौपानेद्वारा जारी प्रेस विज्ञप्तिअनुसार सातै जनाविरुद्ध भ्रष्टाचार निवारण ऐनका सम्बन्धित प्रावधानअनुसार कैद, बिगोबमोजिम जरिवाना र बिगो असुलउपरको मागदाबीसहित आरोपपत्र दायर गरिएको हो ।
प्रकाशित मिति : October 27, 2026 at 3:15 pm










