१० कार्तिक २०८३, सोमबार | Mon Oct 26 2026

गुल्मीमा जिप दुर्घटना, ६ जनाको मृत्यु, ३ घाइते

९ कात्तिक, काठमाडाैँ । गुल्मीको कालीगण्डकी गाउँपालिका–२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। स्याङ्जाको चिरकोटबाट गुल्मीको राक्सेतर्फ जाँदै गरेको स्कारपियो कालीगण्डकी करिडोरअन्तर्गत दबौखानीमा सडकबाट करिब २५० मिटर तल खसेर दुर्घटनामा परेको हो।

बुधबार दिउँसो करिब ४ बजे बीएए ०२२० नम्बरको स्कारपियो दुर्घटनामा परेको प्रहरीले जनाएको छ। दुर्घटनामा परी पाँच जनाको घटनास्थलमै वा उद्धारपछि मृत्यु भएको विवरण खुलेको छ भने निता बगालेको कालीगण्डकी सामुदायिक अस्पताल, मिर्मीमा उपचारका क्रममा मृत्यु भएको हो।

दुर्घटनामा स्याङ्जाको वालिङ नगरपालिका–२ निवासी ६७ वर्षीय स्कारपियो चालक दिलिप कुमार बगाले, वालिङ नगरपालिका–१० का ६० वर्षीय शिव पराजुली, गुल्मीको कालीगण्डकी गाउँपालिका–१ सिरकोटका लोकनाथ पाण्डे, सोही ठाउँकी सिता पाण्डे तथा सिरकोट घर भई हाल बुटवलको खैरेनी बस्दै आएका कुलानन्द पाण्डेको मृत्यु भएको छ। लोकनाथ पाण्डे हाल स्याङ्जाको वालिङमा बस्दै आएका थिए।

दुर्घटनामा परी गुल्मीको कालीगण्डकी गाउँपालिका–१ सिरकोटका छविलाल पाण्डे र गोमता पाण्डे तथा स्याङ्जाको वालिङ नगरपालिका–१० का बालकृष्ण सुवेदी घाइते भएका छन्।

गम्भीर घाइते छविलाल पाण्डेलाई कालीगण्डकी सामुदायिक अस्पताल, मिर्मीमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि पाल्पास्थित मिसन अस्पताल रेफर गरिएको छ। गोमता पाण्डेको मिसन अस्पताल पाल्पामै उपचार भइरहेको छ। त्यस्तै, बालकृष्ण सुवेदीलाई मिर्मीबाट पोखरास्थित मणिपाल शिक्षण अस्पताल रेफर गरिएको छ। घाइतेमध्ये छविलालको अवस्था गम्भीर रहेको र अन्य दुई जनाको अवस्था मध्यम रहेको जनाइएको छ।

दुर्घटनापछि उद्धार टोलीले घटनास्थलबाट मृतक तथा घाइतेहरूलाई उद्धार गरी विभिन्न अस्पतालमा पुर्‍याएको थियो।

दुर्घटना कसरी भयो भन्नेबारे खुल्न बाँकी छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ।

प्रकाशित मिति : October 26, 2026 at 8:15 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/