रसुवा-भोटेकोशी बाढीबाट ७९ अर्ब १७ करोडको क्षति, सबैभन्दा बढी नुवाकोटमा क्षति
९ कात्तिक, काठमाडौं । गत भदौ १० गते रसुवागढी र भोटेकोशी नदी क्षेत्रमा आएको बाढीबाट ७९ अर्ब १७ करोड रुपैयाँ बराबरको प्रारम्भिक आर्थिक क्षति भएको छ। राष्ट्रिय योजना आयोगले तयार पारेको प्रारम्भिक सर्वेक्षणअनुसार रसुवा, नुवाकोट, धादिङ र गोरखाका १५ स्थानीय तहमा बाढीले ३२ हजार ८७२ जनालाई प्रत्यक्ष प्रभावित पारेको छ।
घरपरिवारतर्फ ६९ अर्ब ५७ करोड र व्यवसाय तथा व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक आकलन छ। आयोगले असोज ३० गते तयार पारेको ‘रसुवा–भोटेकोशी बाढी : सर्वेक्षणको प्रारम्भिक विवरण’ अनुसार ६ हजार ८१७ घरपरिवार र ४९९ व्यवसाय तथा प्रतिष्ठान गरी ७ हजार ३१६ एकाइ प्रभावित भएका छन्। तर व्यवसायसम्बन्धी छुट्टै विवरणमा १ हजार ६३८ प्रतिष्ठान प्रभावित भएको उल्लेख छ।

सर्वेक्षणमा आएको प्रारम्भिक विवरणअनुसार नुवाकोटमा बाढीबाट सबैभन्दा बढी क्षति पुगेको छ। नुवाकोटका ३ हजार ८४१ घरपरिवार प्रभावित भएका छन् । यस्तै रसुवामा १ हजार ९२०, धादिङमा ९४८ र गोरखामा १०८ घरपरिवार प्रभावित भएको सर्वेक्षणमा उल्लेख छ ।
नुवाकोटमा सबैभन्दा बढी घरपरिवार प्रभावित
बाढीबाट सबैभन्दा बढी नुवाकोटका ३ हजार ८४१ घरपरिवार प्रभावित भएका छन्। रसुवामा १ हजार ९२०, धादिङमा ९४८ र गोरखामा १०८ घरपरिवार प्रभावित भएको प्रारम्भिक विवरणमा उल्लेख छ।
प्रत्यक्ष प्रभावित ३२ हजार ८७२ जनामध्ये १६ हजार ७१४ पुरुष, १६ हजार ८० महिला र ७८ जना अन्य वा विवरण नखुलेका व्यक्ति छन्। बाढीले घर तथा आवास संरचनामा ठूलो क्षति पुर्याएको छ।
प्रतिवेदनअनुसार ३ हजार ६७ घरधनीका ४ हजार १५१ संरचनामा क्षति पुगेको छ। तीमध्ये २ हजार ७९२ घर, ६५१ ट्रस संरचना, २८८ गोठ, धन्सार तथा मतान, २६३ टहरा र १४२ अन्य संरचना छन्।
क्षतिको प्रकृति हेर्दा २ हजार ९८९ संरचना पूर्ण रूपमा बगेका वा भत्किएका छन्। यो कुल क्षतिग्रस्त संरचनाको ७२.०१ प्रतिशत हो। त्यस्तै, ५०८ संरचना माटो तथा लेदोले पुरिएका, ३०२ मा आंशिक क्षति पुगेका, १४१ ढल्किएका र १९२ मा सामान्य क्षति भएको छ।
पुनःप्रयोगको अवस्थाबारे गरिएको आकलनले आवास पुनर्निर्माणको चुनौती थप स्पष्ट पारेको छ। कुल क्षतिग्रस्त संरचनामध्ये ३ हजार १९४ अर्थात् ७६.९५ प्रतिशत पुनः प्रयोग गर्न नमिल्ने अवस्थामा छन्। ३३२ संरचना पूर्ण मर्मतपछि र ३२० संरचना सामान्य मर्मतपछि प्रयोग गर्न सकिने देखिएको छ।

प्रकाशित मिति : October 26, 2026 at 4:24 pm










