१० कार्तिक २०८३, सोमबार | Mon Oct 26 2026

सर्वोच्च अदालतका प्रस्तावित चार न्यायाधीशविरुद्ध उजुरी आह्वान

९ कात्तिक, काठमाडौं । संघीय संसद्को संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीश पदमा सिफारिस गरिएका चार न्यायाधीशविरुद्ध उजुरी आह्वान गरेको छ ।समितिले सार्वजनिक सूचना जारी गर्दै प्रस्तावित व्यक्तिहरूलाई सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्त गर्न उपयुक्त छैन भन्ने लागेमा स्पष्ट आधार र प्रमाणसहित १० (दश) दिनभित्र उजुरी दिन अनुरोध गरेको हो।

असोज २० गते बसेको न्याय परिषद् बैठकले पुनरावेदन अदातका न्यायाधीशहरूडा. रत्नबहादुर बागचन्द, चन्द्रबहादुर सारु, जनक पाण्डे र गोकर्ण डाँगीलाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको थियो ।

संसदीय सुनुवाइ समितिको असोज २६ गते बसेको बैठकले प्रस्तावित न्यायाधीशविरुद्ध कात्तिक ९ गतेबाट सुरु हुने गरी १० दिनको समय दिएर उजुरी आह्वानको निर्णय गरेको थियो । त्यही निर्णय बमोजिम समितिले सोमबार सूचना जारी गरेर उजुरी आह्वान गरेको हो ।

समितिले सूचना प्रकाशित भएको मितिले १० दिनभित्र कार्यालय समयमा स्पष्ट आधार, सबुत प्रमाणसहित शिष्ट र मर्यादित भाषामा उजुरी दिन आग्रह गरेको हो । समितिले सूचनादाताले आफ्नो नाम, थर, ठेगाना र फोन नम्बर स्पष्ट रूपमा खुलाउनुपर्ने तर, उजुरीकर्ताले चाहेमा उसको पहिचान पूर्ण रूपमा गोप्य राखिने जनाएको छ।

उजुरी प्राप्त भएपछि सुनुवाइ समितिले उजुरीकर्तासँग छलफल गर्नेछ । त्यसपछि प्रस्तावित न्यायाधीशरूको सुनुवाइ हुनेछ । संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि प्रस्तावित न्यायाधीशमा नियुक्ति हुनेछन् ।

प्रकाशित मिति : October 26, 2026 at 1:03 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/