६२ कम्पनीले घोषणा गरे लाभांश, कुनको कति ?
८ कात्तिक, काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ सुरु भएसँगै पुँजी बजारमा लाभांश सिजन पनि सुरु भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएका विभिन्न क्षेत्रका ६२ वटा कम्पनीहरुले लाभांश घोषणा गरेका गरेका छन् । कम्पनीहरुले गत आर्थिक वर्षको वितरणयोग्य नाफाबाट आफ्ना सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेका छन् । सूचीकृत कम्पनीहरूमध्ये वाणिज्य बैंक, विकास बैंक, वित्तीय संस्था, जलविद्युत्, उत्पादनमूलक तथा सामूहिक लगानी कोष (म्युचुअल फन्ड) हरूले प्रतिफल घोषणा गरिसकेका छन्।
लाभांश घोषणा गर्ने वाणिज्य बैंकहरुमा सिद्धार्थ बैंक रहेकाे छ । बैंकले गत आर्थिक वर्षको वितरणयोग्य नाफाबाट आफ्ना सेयरधनीहरुलाई १० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । यस्तै, नबिल बैंकले ५ प्रतिशत बोनस र १०.८ प्रतिशत नगदसहित कुल १५.८ प्रतिशत लाभांश घोषणा गरेको छ ।
त्यस्तैगरी, एभरेष्ट बैंकले सेयरधनीहरुलाई ५ प्रतिशत बोनस र १० प्रतिशत नगद गरी १५ प्रतिशत लाभांश घोषणा गरेको छ । त्यस्तै, ग्लोबल आइएमई बैंकले ६ प्रतिशत बोनस र ४ प्रतिशत नगद १० प्रतिशत , सानिमा बैंकले १० प्रतिशत नगद लाभांश दिने भएको छ भने एनएमबि बैंकले ७ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ । माछापुच्छ्रे बैंकले ३ प्रतिशत बोनस र ३ प्रतिशत नगद गरी कुल ६ प्रतिशत, सिटिजन्स बैंकले ४ प्रतिशत र कुमारी बैंकले २.१०५ प्रतिशत नगद लाभांश घोषणा गरेका छन् ।

त्यस्तै विकास बैंकहरूतर्फ गरिमा विकास बैंकले १० प्रतिशत बोनस र १० प्रतिशत नगदसहित कुल २० प्रतिशत लाभांश दिने घोषणा गरेकाे छ । त्यस्तै, कामना सेवा विकास बैंकले १५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । साइन रेसुङ्गा डेभलपमेन्ट बैंकले १० प्रतिशत बोनस र ६ प्रतिशत नगद गरी कुल १६ प्रतिशत, साङ्ग्रिला डेभलपमेन्ट बैंकले १०.५२६ प्रतिशत र मितेरी डेभलपमेन्ट बैंकले ११ प्रतिशत लाभांश घोषणा गरेका छन् ।
वित्त (फाइनान्स) क्षेत्रतर्फ मञ्जुश्री फाइनान्सले ५ प्रतिशत बोनस र १५ प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश घोषणा गरेको छ । त्यस्तै आइसिएफसी फाइनान्सले १०.५२ प्रतिशत नगद लाभांश दिने भएको छ ।
जलविद्युत् समूहका कम्पनीहरूमा माउन्टेन इनर्जी नेपालले २० प्रतिशत बोनस र १.०५३ प्रतिशत नगदसहित कुल २१.०५३ प्रतिशत लाभांश घोषणा गरेकाे छ । यस्तै, कुथेली बुखरी स्मल हाइड्रोपावरले १८ प्रतिशत बोनस र ०.९४७ प्रतिशत नगद गरी कुल १८.९४७ प्रतिशत लाभांश घोषणा गरेको छ । त्यस्तैगरी, सुपर मादी हाइड्रोपावर र मिड सोलु हाइड्रोपावरले समान १५.७८९ प्रतिशत, कालिञ्चोक दर्शनले ८.९४ प्रतिशत, सिकलेस हाइड्रोपावरले १३.३७५ प्रतिशत र सानिमा मिडल तमोर हाइड्रोपावरले ५.२६३ प्रतिशत लाभांश घोषणा गरेका छन्।
उत्पादनमूलक समूहअन्तर्गत रिलायन्स स्पिनिङ मिल्सले ३० प्रतिशत नगद लाभांश घोषणा गरेकाे छ । नेपाल ल्युब आयलले १५ प्रतिशत बोनस र ६.०५२ प्रतिशत नगदसहित २१.०५२ प्रतिशत घोषणा गरेकाे छ भने सर्वोत्तम सिमेन्टले १०.५२ प्रतिशत लाभांश घोषणा गरेकाे छन्। लघुवित्त क्षेत्रमा फर्स्ट माइक्रोफाइनान्सले ११.०५३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ भने गुराँस लघुवित्तले १० प्रतिशत र ग्लोबल आइएमई लघुवित्तले ९.५ प्रतिशत लाभांश घोषणा गरेका छन् । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा)ले ५.२६ प्रतिशत नगद लाभांश घोषणा गरेको छ ।
सामूहिक लगानी कोषहरूमा राष्ट्रिय बाणिज्य बैंक म्युचुअल फन्ड १ ले २० प्रतिशत नगद प्रतिफल घोषणा गरेको छ । त्यस्तै हिमालयन ८०–२० ले १५ प्रतिशत, नबिल ब्यालेन्स्ड फन्ड २ र ३ ले समान १३–१३ प्रतिशत, प्रभु स्मार्ट फन्ड र प्रभु सेलेक्ट फन्डले समान १२–१२ प्रतिशत तथा ग्लोबल आइएमई ब्यालेन्स्ड फन्ड १ ले १२ प्रतिशत प्रतिफल घोषणा गरेका छन् ।
प्रकाशित मिति : October 25, 2026 at 1:08 pm










