८ कार्तिक २०८३, शनिबार | Sat Oct 24 2026

साइबर सुरक्षा जोखिमपछि राजस्व अनुसन्धान विभागको भीसीटीएस प्रणाली अस्थायी बन्द

७ कात्तिक, काठमाडौँ । साइबर सुरक्षा जोखिमलाई मध्यनजर गर्दै राजस्व अनुसन्धान विभागले सञ्चालन गर्दै आएको सवारीसाधन तथा मालवस्तुको ढुवानी अनुगमन प्रणाली (Vehicle Consignment Tracking System–VCTS) (भीसीटीएस) अस्थायी रूपमा बन्द गरेको छ।

अर्थ मन्त्रालयअन्तर्गतको राजस्व अनुसन्धान विभागले जारी गरेको अत्यन्त जरुरी सूचनाअनुसार राष्ट्रिय साइबर सुरक्षा केन्द्रले २०८३ कात्तिक ५ गते पिएचपी तथा सोसँग सम्बन्धित प्रविधिमा गम्भीर कमजोरी देखिएको भन्दै साइबर सुरक्षा एडभाइजरी जारी गरेको थियो। उक्त जोखिमबाट प्रविधिको दुरुपयोग हुन सक्ने अवस्थालाई मध्यनजर गर्दै विभागअन्तर्गत सञ्चालनमा रहेको भीसीटीएस प्रणाली अस्थायी रूपमा बन्द गरिएको सूचनामा उल्लेख छ।

विभागले आवश्यक सुरक्षा अद्यावधिक गरी प्रणाली सुरक्षित भएपछि सेवा पुनः सञ्चालनमा ल्याइने जनाएको छ। प्रणाली बन्द रहेको अवधिमा सेवाग्राहीले नियमानुसार जारी भएका बिलबिजक तथा सम्बन्धित कागजात साथमा राखी सवारीसाधन सञ्चालन गर्न सक्नेछन्।

विभागका अनुसार प्रणाली पुनः सञ्चालनमा आएपछि सम्बन्धित सेवाग्राही, करदाता तथा निकायले यथाशीघ्र नियमानुसार भीसीटीएस जारी गर्नुपर्नेछ। प्रणाली अस्थायी रूपमा बन्द हुँदा सेवाग्राही तथा सरोकारवालामा पर्न गएको असुविधाप्रति विभागले क्षमायाचना गरेको छ। साथै, प्रणालीको सुरक्षा सुदृढीकरणका लागि चालिएको कदममा सबै सरोकारवालाको सहयोग र समन्वयको अपेक्षा गरेको छ।

साइबर सुरक्षा जोखिम न्यूनीकरण गरी प्रणाली सुरक्षित बनाएपछि मात्रै भीसीटीएस सेवा पुनः सञ्चालनमा ल्याइने विभागले जनाएको छ।

प्रकाशित मिति : October 24, 2026 at 9:10 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/