गाईवस्तुको दाना मिसाएर बनाइने प्रियागोल्ड बिस्कुटमाथि नेपालमा प्रतिबन्ध
२ कात्तिक, काठमाडौँ । उपभोक्ताले बालबालिकादेखि परिवारका सदस्यसम्मलाई खुवाउने बिस्कुटमै गाईवस्तुको दानाका रूपमा प्रयोग हुने चोकर मिसाइएको पाइएको छ। भारतमा उत्पादित प्रियागोल्ड ब्रान्डका बिस्कुटमा यस्तो पदार्थ प्रयोग गरिएको र उत्पादन कारखानामा समेत खाद्य स्वच्छतासम्बन्धी गम्भीर कमजोरी भेटिएपछि नेपालमा यसको आयातदेखि बिक्री वितरणसम्म प्रतिबन्ध लगाइएको छ।
नेपालमा प्रियागोल्ड ब्रान्डका बिस्कुटहरू मुख्य रूपमा विश्वनाथ ओभरसिज प्रालिमार्फत आयात हुँदै आएका छन् । विश्वनाथ ओभरसिजलाई डिभी ग्रुप अफ कम्पनीले प्रवर्द्धन गरेको छ । भारत उत्तर प्रदेशको नोयडामा भारतीय उद्योगपति बल्लभप्रसाद अग्रवाल र उनका छोराहरू मनोजकुमार अग्रवाल, नवीनकुमार अग्रवाल र शेखर अग्रवालले सन् १९९४ मा ‘प्रियागोल्ड’ ब्रान्ड अन्तर्गत ‘सूर्या फुड एण्ड एग्रो लिमिटेड’को स्थापना गरेका थिए ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले प्रियागोल्ड ब्रान्डका बिस्कुटको पैठारी स्वीकृति स्थगित गर्दै नेपालमा बिक्री भइरहेका उत्पादनसमेत तत्काल बजारबाट फिर्ता गर्न निर्देशन दिएको छ। विभागको निर्णयअनुसार उत्पादन मिति जुनसुकै भए पनि उक्त ब्रान्डका सबै ब्याचका बिस्कुट बिक्री गर्न पाइने छैन।
भारतको सूर्या फुड एन्ड एग्रो लिमिटेडले उत्पादन गर्ने प्रियागोल्ड बिस्कुटमा प्रयोग गरिएको कच्चा पदार्थ र उत्पादन प्रक्रियामाथि गम्भीर प्रश्न उठेपछि नेपाली बजारमा समेत प्रतिबन्ध लगाइएको हो। विभागले २०८३ असोज ९ गते जारी गरेको सूचनामार्फत अर्को आदेश नभएसम्म आयात, प्रवेश अनुमति र बिक्री वितरण रोक्न निर्देशन दिएको छ।
गाईवस्तुको दानामा प्रयोग हुने चोकर बिस्कुटमा
यस प्रकरणको सबैभन्दा गम्भीर पक्ष बिस्कुट उत्पादनमा प्रयोग गरिएको कच्चा पदार्थ हो। विभागको सूचनाअनुसार भारतको खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई)ले गरेको निरीक्षणमा गाईवस्तुको दानाका रूपमा प्रयोग गर्नुपर्ने चोकर (क्याटल फिड ब्रान) लाई प्रियागोल्ड बिस्कुटमा रेशा अर्थात् फाइबरको स्रोतका रूपमा प्रयोग गरिएको पाइएको छ।
खाद्य उत्पादनमा यस्तो पदार्थ प्रयोग गरिएको विषयमा उपभोक्तालाई स्पष्ट जानकारी नदिइएको पनि सूचनामा उल्लेख छ। उपभोक्ताले गुणस्तरीय खाद्य पदार्थ किनिरहेको ठानेर पैसा तिर्ने, तर त्यसमा प्रयोग गरिएका सामग्रीबारे पर्याप्त जानकारीसमेत नपाउने अवस्था खाद्य सुरक्षामाथिको गम्भीर प्रश्न हो।
यद्यपि, चोकरको प्रयोगसम्बन्धी नियामक निकायको निष्कर्षलाई मात्र आधार बनाएर उक्त पदार्थ आफैँमा विषाक्त भएको वा बिस्कुट खाएकै कारण उपभोक्ताको स्वास्थ्यमा क्षति पुगेको निष्कर्ष निकाल्न भने मिल्दैन। तर, खाद्य पदार्थमा प्रयोग हुने कच्चा पदार्थ, त्यसको उपयुक्तता र उपभोक्तालाई दिइने जानकारीमा देखिएका कमजोरीले उत्पादकको जवाफदेहितामाथि प्रश्न उठाएको छ।

कारखानाको सरसफाइदेखि कीट नियन्त्रणसम्म कमजोरी
भारतीय नियामक निकायको निरीक्षणले बिस्कुटमा प्रयोग हुने कच्चा पदार्थमा मात्रै प्रश्न उठाएको छैन। उत्पादन कारखानाको सरसफाइ, कीट नियन्त्रण, कच्चा पदार्थको भण्डारण, कर्मचारीको व्यक्तिगत स्वच्छता र उत्पादनस्थलको मर्मतसम्भारमा समेत कमजोरी भेटिएको विभागले जनाएको छ।
खाद्य पदार्थ उत्पादन गर्ने उद्योगमा सरसफाइ र स्वच्छता सामान्य व्यवस्थापकीय विषय मात्र होइनन्। यी उपभोक्ताको स्वास्थ्य र खाद्य सुरक्षासँग प्रत्यक्ष जोडिएका आधारभूत मापदण्ड हुन्। यस्ता विषयमा गम्भीर कमजोरी भेटिनुले उत्पादन प्रक्रियाको निगरानी र गुणस्तर नियन्त्रण कति प्रभावकारी थियो भन्ने प्रश्न उठाएको छ।
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरणले यी कमजोरीलाई गम्भीर मापदण्ड उल्लङ्घनका रूपमा लिँदै सम्बन्धित कम्पनीको इजाजतपत्र निलम्बन गरेको छ। कम्पनीविरुद्ध थप कानुनी प्रक्रिया अघि बढाउनसमेत स्वीकृति दिइएको विभागले जनाएको छ।
नेपालमा सबै ब्याचको बिक्री बन्द, बजारबाट फिर्ता गर्न आदेश
भारतीय नियामक निकायबाट प्राप्त जानकारी र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको उच्च व्यवस्थापन समूह तथा उत्पादन फिर्ता प्राविधिक समितिको संयुक्त बैठकको सिफारिसका आधारमा नेपालमा प्रतिबन्धात्मक व्यवस्था लागू गरिएको हो।
विभागको निर्देशनपछि प्रियागोल्ड बिस्कुटका आयातकर्ता, थोक विक्रेता र खुद्रा विक्रेताले आफ्नो मौज्दात जाँच गरी उक्त ब्रान्डका सबै उत्पादन बिक्रीबाट हटाउनुपर्नेछ। बजारमा पुगिसकेका बिस्कुटसमेत फिर्ता सङ्कलन गर्नुपर्ने भएकाले प्रतिबन्ध केवल नयाँ आयातमा सीमित छैन।
फिर्ता सङ्कलन गरिएका बिस्कुट नष्ट गर्नुपर्ने वा अन्य उपयुक्त व्यवस्थापन गर्नुपर्ने भएमा स्थानीय तह वा स्थानीय प्रशासनका प्रतिनिधि तथा विभागका प्राविधिक कर्मचारीको रोहबरमा आवश्यक प्रक्रिया पूरा गर्न निर्देशन दिइएको छ। फिर्ता गरिएका उत्पादनको उचित सङ्कलन, अभिलेखीकरण र व्यवस्थापनको जिम्मेवारीसमेत सम्बन्धित व्यवसायीलाई दिइएको छ।
विभागले खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को दफा ३५ को उपदफा २ र ६ बमोजिम निर्देशन पालना गर्न भनेको छ। प्रतिबन्धको अवज्ञा गरी बिक्री वितरण गर्ने वा खाद्य स्वच्छतासम्बन्धी मापदण्ड उल्लङ्घन गर्ने व्यवसायीमाथि प्रचलित कानुनअनुसार कारबाही हुने चेतावनीसमेत दिइएको छ।

उपभोक्ताको स्वास्थ्यभन्दा व्यापार ठूलो !
प्रियागोल्ड बिस्कुट प्रकरणले नेपालमा आयात हुने खाद्य वस्तुको गुणस्तर परीक्षण, बजार अनुगमन र आयातकर्ताको जवाफदेहितामाथि गम्भीर प्रश्न खडा गरेको छ। विदेशी नियामक निकायले उत्पादक कम्पनीमाथि कारबाही गरेपछि मात्रै नेपाली बजारमा प्रतिबन्धात्मक व्यवस्था लागू गर्नुपर्ने अवस्थाले आयातित खाद्य वस्तुको निगरानी प्रणाली कति चुस्त छ भन्ने विषयमा बहस आवश्यक बनाएको छ।
विदेशी बजारमा उत्पादित वस्तु नेपाल भित्र्याएर बिक्री गर्नु मात्रै आयातकर्ताको जिम्मेवारी होइन। नेपाली उपभोक्ताले खरिद गर्ने खाद्य पदार्थको गुणस्तर, त्यसको सुरक्षित प्रयोग र आवश्यक परे बजारबाट तत्काल फिर्ता गर्ने व्यवस्था सुनिश्चित गर्नु पनि व्यवसायीको दायित्व हो।

अब सम्बन्धित निकायले प्रतिबन्धको सूचना जारी गरेर मात्रै आफ्नो जिम्मेवारी पूरा भएको ठान्नु हुँदैन। बजारमा कति परिमाणमा प्रियागोल्ड बिस्कुट भित्रियो, कति बिक्री भयो, कति मौज्दात छ र कति उत्पादन फिर्ता सङ्कलन गरियो भन्ने विवरण सार्वजनिक गर्नु आवश्यक छ। प्रतिबन्ध प्रभावकारी रूपमा कार्यान्वयन भयो कि भएन भन्ने अनुगमन पनि उत्तिकै महत्त्वपूर्ण छ।
उपभोक्ताले पनि घरमा प्रियागोल्ड ब्रान्डका बिस्कुट राखेका छन् भने अर्को आदेश नभएसम्म उपभोग नगर्नु उचित हुन्छ। सम्बन्धित विक्रेता वा आधिकारिक निकायसँग फिर्ता गर्ने प्रक्रियाबारे जानकारी लिन सकिन्छ।
खाद्य पदार्थको गुणस्तरमा प्रश्न उठेपछि कारबाही गर्नु नियामक निकायको दायित्व हो। तर, उपभोक्ताको स्वास्थ्यमा जोखिम उत्पन्न हुनुअघि नै शंकास्पद उत्पादन पहिचान गर्ने र बजारमा प्रवेश रोक्ने प्रभावकारी प्रणाली निर्माण गर्नु अझ महत्त्वपूर्ण छ। प्रियागोल्ड प्रकरणले नेपालमा आयातित खाद्य वस्तुको परीक्षण र अनुगमनमा कुनै पनि प्रकारको लापरबाही स्वीकार्य हुन नसक्ने स्पष्ट सन्देश दिएको छ।
प्रकाशित मिति : October 19, 2026 at 4:00 pm










