३ कार्तिक २०८३, सोमबार | Mon Oct 19 2026

सरस्वती थापासहित ५० नेता अनेरास्ववियुको कारबाहीमा (सूचीसहित)

२ कार्तिक, काठमाडौं । नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले विभिन्न कारण देखाउँदै पार्टी अध्यक्ष केपी शर्मा ओलीको समर्थनमा सडकमा नउत्रिएका ५० जना नेता तथा कार्यकर्तालाई संगठनबाट बिदाइ गर्ने निर्णय गरेको छ। एमाले र उसका संगठनहरूले पुनः ‘बा’ ब्राण्डिङको अभियान चलाइरहेका छन । यस्तै अभियानमा अहसमत रहेका अनेरास्ववियुका नेताहरू कारबाहीमा परेको एक पदाधिकारीले दैनिकीसँग बताए ।

कारबाहीमा परेका सरस्वती थापा र सिद्धान्त भट्ट ।

अनेरास्ववियुका महासचिव अञ्जना शिवाकोटीको हस्ताक्षरमा कार्तिक १ गते जारी सर्कुलरअनुसार संगठनका केन्द्रीय कमिटी सदस्य तथा सचिवालय सदस्यसहित ५० जनालाई कारबाही गरिएको हो।

कारबाहीमा पर्नेमा नेकपा एमाले बागमती प्रदेश कमिटी सदस्य सरस्वती थापा, त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) का पूर्वसचिव सिद्धान्त भट्ट र सुनिल थापासहित रहेका छन्।

अनेरास्ववियुको केन्द्रीय कमिटीको पहिलो पूर्ण बैठकले संगठनका आगामी कार्ययोजना, समसामयिक राजनीतिक परिस्थिति तथा विद्यार्थी आन्दोलनलाई थप सशक्त र प्रभावकारी बनाउने विषयमा छलफल गर्दै संगठनात्मक निर्णय गरेको सर्कुलरमा उल्लेख छ।

सर्कुलरमा विद्यार्थी आन्दोलन र लोकतन्त्रमाथि चुनौती बढिरहेको उल्लेख गर्दै संगठनलाई थप जिम्मेवार, संगठित र सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरिएको छ।

कारबाहीमा परेका नेता सुनिल थापा ।

संगठनबाट बिदाइ गरिएका नेताहरूको सूचीमा सचिवालय सदस्य र केन्द्रीय कमिटी सदस्यहरू रहेका छन्। सर्कुलरमा उनीहरू संगठनका नियमित बैठक तथा गतिविधिमा अनुपस्थित रहेको र सक्रियता नदेखाएको विषयसमेत उल्लेख गरिएको छ।

अनेरास्ववियुले संगठनको निर्णय कार्यान्वयन गर्न मातहतका कमिटीहरूलाई निर्देशन दिएको छ।

प्रकाशित मिति : October 19, 2026 at 3:12 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/