२ कार्तिक २०८३, आइतबार | Sun Oct 18 2026

कांग्रेस रूपान्तरण गर्ने जिम्मेवारीमा गगन थापा

१ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पद तथा गोपनीयताको सपथ लिएका छन् । शनिबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा केन्द्रीय निर्वाचन समितिका संयोजक प्रेमबहादुर खड्काले थापालाई सपथ गराएका हुन्।

सपथ ग्रहणसँगै निर्वाचन समितिले थापालाई विजयी भएको प्रमाणपत्रसमेत प्रदान गरेको थियो। सपथ लिएपछि थापाले शनिबार नै पार्टी कार्यालयमा पुगेर सभापतिको पदभार सम्हालेका छन्।

पदभार ग्रहणपछि सम्बोधन गर्दै थापाले पार्टीको महाधिवेशनअन्तर्गत हुने निर्वाचनलाई जित र हारको विषयभन्दा पनि जिम्मेवारीका रूपमा लिनुपर्ने बताए। महाधिवेशनको निर्वाचन आम निर्वाचनजस्तो नभई पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धा भएकाले यसको परिणामलाई सोहीअनुसार बुझ्नुपर्ने उनको भनाइ थियो।

सभापति र अन्य पदाधिकारीको जिम्मेवारी पद प्राप्तिमा मात्र सीमित नरहेको उल्लेख गर्दै थापाले नागरिकको लोकतान्त्रिक अधिकार, आत्मसम्मान र न्यायको रक्षा गर्नु पार्टीको प्रमुख दायित्व भएको बताए। उनले कांग्रेसका संस्थापकहरूले अघि सारेका लोकतन्त्र, मर्यादा र सामाजिक न्यायका मूल्यमान्यतालाई सधैँ आत्मसात् गरिने प्रतिबद्धतासमेत व्यक्त गरे।

थापाले कांग्रेसलाई सानो घेराबाट बाहिर निकालेर आम नागरिक, किसान, युवा र मजदुरसँग जोड्नुपर्ने आवश्यकता औँल्याए। पार्टीलाई समयसापेक्ष रूपमा रूपान्तरण गर्दै संस्थागत सुधार गर्नुपर्नेमा जोड दिँदै उनले वैचारिक रूपमा सबल र जनसरोकारका मुद्दामा प्रभावकारी भूमिका निर्वाह गर्ने कांग्रेस निर्माण गर्ने धारणा राखे।

नवनिर्वाचित सभापति थापाले सपथसँगै पदभार सम्हाले पनि कार्यसमितिका अन्य निर्वाचित पदाधिकारी तथा सदस्यहरूको सपथ भने दसैँपछि गराइने कांग्रेसले जनाएको छ।

प्रकाशित मिति : October 18, 2026 at 7:43 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/