२२ आश्विन २०८३, बिहिबार | Thu Oct 8 2026

श्रमिकलाई एक महिनाको आधारभूत तलब बराबर चाडपर्व खर्च दिन रोजगारदातालाई विभागको निर्देशन

२२ असोज, काठमाडौं । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले सबै रोजगारदाता तथा प्रतिष्ठानलाई श्रमिकको एक महिनाको आधारभूत पारिश्रमिक बराबर चाडपर्व खर्च अनिवार्य रूपमा उपलब्ध गराउन निर्देशन दिएको छ।

श्रम ऐन, २०७४ को दफा ३७ अनुसार प्रचलित धर्म, संस्कृति तथा परम्पराअनुसार मनाइने चाडपर्वका लागि प्रत्येक श्रमिकले आफूले खाइपाइ आएको एक महिनाको आधारभूत पारिश्रमिक बराबरको रकम प्रत्येक वर्ष चाडपर्व खर्चका रूपमा पाउने कानुनी व्यवस्था रहेको विभागले स्पष्ट पारेको हो।

विभागले रोजगारदाता तथा प्रतिष्ठानलाई उक्त कानुनी व्यवस्था कार्यान्वयन गरी श्रमिकलाई समयमै चाडपर्व खर्च उपलब्ध गराउन आग्रह गरेको छ। विभागले कानुनले सुनिश्चित गरेको सुविधा उपलब्ध गराउनु रोजगारदाताको दायित्व भएको उल्लेख गर्दै त्यसको पालना गर्न सबै प्रतिष्ठानलाई आग्रह गरेको छ।

तोकिएको चाडपर्व खर्च उपलब्ध नगराइए सम्बन्धित श्रमिकले आफ्नो कार्यक्षेत्र पर्ने श्रम तथा रोजगार कार्यालय वा श्रम तथा व्यवसायजन्य सुरक्षा विभागमा उजुरी दिन सक्नेछन्। विभागले श्रमिकका गुनासा तथा उजुरी प्राप्त गर्न विद्युतीय माध्यमको समेत व्यवस्था गरेको छ। श्रमिकले विभागको इमेल ठेगाना मार्फत उजुरी, गुनासो तथा सुझाव पठाउन सक्नेछन्। त्यसैगरी, विभागले उपलब्ध गराएको क्युआर कोडमार्फत पनि गुनासो तथा उजुरी दिन सकिने जनाएको छ।

प्रकाशित मिति : October 8, 2026 at 4:56 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/