२२ आश्विन २०८३, बिहिबार | Thu Oct 8 2026

३१ हिमाल आरोहणका लागि ७० देशका ७८८ आरोहीलाई अनुमति

२२ असोज, काठमाडौं । शरद् ऋतुमा ३१ हिमाल आरोहणका लागि ७८८ जनाले अनुमति लिएका छन्। पर्यटन विभागले दिएको जानकारी अनुसार सन् २०२६ को शरद् ऋतुमा नेपालका विभिन्न हिमाल आरोहणका लागि ९१ वटा टोलीका ७८८ जना आरोहीले अनुमति लिएका छन्।

विभागका सूचना अधिकारी सुरज घिमिरेले ३१ हिमाल आरोहणका लागि ५८२ पुरुष र २०६ महिलाले आरोहण अनुमति लिएको जानकारी दिए। आरोहण अनुमति प्रदान गरेबापत विभागले आरोहीबाट २४ करोड ७२ लाख सात हजार ६०१ राजस्व संकलन गरेको छ।

आरोहण अनुमति प्रदान गरेका हिमालमध्ये सबैभन्दा धेरै मनास्लु (८,१६३ मिटर) रहेको छ । मनास्लु आरोहणका लागि मात्रै ४३ टोलीका ५०० जना आरोहीले अनुमति लिएका छन् । उनीहरूबाट विभागले २२ करोड ५८ लाख ५७ हजार १८९ रोयल्टी संकलन गरेको छ।

विभागका अनुसार धौलागिरि–१ आरोहणका लागि पाँच टोलीका ३६ जनाले आरोहण अनुमति लिएका छन्। उनीहरुबाट विभागले ८२ लाख ४२ हजार ५० राजस्व सङ्कलन गरेको छ। यस्तै, हिम्लुङ हिमालका लागि तीन टोलीका ३४ आरोहीले अनुमति लिएका छन्। उनीहरुबाट विभागले २० लाख ८७ हजार ८०० रोयल्टी संकलन गरेको हो ।

यस्तै, आमादब्लम हिमाल आरोहणका लागि दुई टोलीका १९ जनाले आरोहण अनुमति लिएका छन्। उनीहरुबाट विभागले २९ लाख १२ हजार राजश्व संकलन गरेको छ । यसैगरी, पुथा हिउँचुली, डाङ्गा हिउँचुली, बरुणत्से हिमाल, मकालु, गङ्गापूर्णा पश्चिम (लाङचेनेल), थोरोङ पिक, नोर्बु खाङ, अन्नपूर्ण–४, चाम्लाङ, लमजुङ हिमाल, पुमोरी, सारिबुङ, थापा पिक (धाम्पुस), पोखर खाङ, अर्दाङ र पेरीलगायतका हिमालका लागि अनुमति प्रदान गरिएको विभागले जनाएको छ।

उक्त हिमाल आरोहण गर्नका लागि ७० देशका ७८८ आरोहीले आरोहण अनुमति लिएका छन्। आरोहण अनुमति लिनेमा सबैभन्दा धेरै चीनका ११८ जना रहेका छन्। यसबाहेक रसियाका ६५, फ्रान्सका ६०, अमेरिकाका ५२, बेलायतका ४५, पोल्याण्डका २५, नेपालका २३, स्वीट्जरल्याण्डका १६, स्पेनका १६, भारतका १८, इटलीका २३, जापानका २५ जनाले आरोहण अनुमति लिएका छन्।

विभागले उक्त हिमाल आरोहणका लागि जारी गरेको आरोहण अनुमतिबाट १६ लाख २७ हजार ६५९ अमेरिकी डलर अर्थात् २४ करोड ७२ लाख सात हजार ६०१ नेपाली रुपैयाँ राजस्व संकलन गरेको छ।

प्रकाशित मिति : October 8, 2026 at 10:57 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/