२२ आश्विन २०८३, बिहिबार | Thu Oct 8 2026

सेटिङमा एनटीसीको एण्टेना खरिदको टेण्डर बन्दै, यसरी बन्दैछ साँघुरो मापदण्ड

२२ असोज, काठमाडौँ । नेपाल टेलिकम (एनटीसी)ले देशभर करिब १ हजार ६ सय नयाँ २जी/४जी साइट विस्तार तथा नेटवर्क स्तरोन्नतिको तयारी गरिरहेका बेला एण्टेना खरिदमा उत्पादन देशका आधारमा आपूर्तिकर्ताको योग्यता सीमित गर्न खोजिएको विषयले प्रश्न उठाएको छ। दूरसञ्चार क्षेत्रका सरोकारवालाले यस्तो व्यवस्था गरिए प्रतिस्पर्धी आपूर्तिकर्ताको सहभागिता घट्ने र त्यसको असर खरिद लागत, प्रविधि छनोट तथा आपूर्ति समयमै पर्न सक्ने बताएका छन्।

आगामी खरिदका लागि तयार गरिने अनुरोधपत्र (आरएफपी) मा निश्चित देश वा भौगोलिक क्षेत्रबाहिर उत्पादित एण्टेनालाई अयोग्य ठहराउने प्रावधान राख्ने प्रयास भैरहेको उनीहरूको आशंका छ। तर, यससम्बन्धी अन्तिम व्यवस्था के हुनेछ भन्ने स्पष्ट भइसकेको छैन। नेपाल टेलिकमको आधिकारिक धारणा पनि सार्वजनिक भएको छैन ।

सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले टेलिफोन तथा इन्टरनेट सेवालाई भरपर्दो र गुणस्तरीय बनाउन सरकारले सेवा विस्तार, उपकरण थप तथा विद्युत् आपूर्ति व्यवस्थापनलाई प्राथमिकताका साथ अघि बढाएको बताएका छन् । गत मंगलबार प्रतिनिधिसभाको बैठकमा सांसदको प्रश्नको जवाफ दिने क्रममा मन्त्री तिमल्सिनाले टेलिकमले देशभर मोबाइल नेटवर्कमा देखिएका समस्या समाधान गर्न एक हजार ५९७ स्थानमा फोरजी सेवा सञ्चालनका लागि आवश्यक उपकरणको बोलपत्र यसै साता प्रकाशित हुने क्रममा रहेको बताएका थिए ।

विद्युत् अवरुद्ध हुँदा मोबाइल सेवा सञ्चालनमा समस्या नहोस् भन्ने उद्देश्यले देशभरका नेपाल टेलिकमका टावरमा पावर ब्याकअपको क्षमता बढाउने काम भइरहेको सञ्चारमन्त्री डा. तिमिल्सिनाले बताए ।

नेपाल टेलिकमका एकजना वरिष्ठ दूरसञ्चार इन्जिनियर भन्छन्,”एन्टेना खरिद प्रक्रियामा गुणस्तर नियन्त्रणको सबैभन्दा प्रभावकारी उपाय भनेको कडा प्राविधिक मूल्याङ्कन र विस्तृत गुणस्तर सुनिश्चितता गर्नु हो; यसले स्वस्थ प्रतिस्पर्धा, उचित मूल्य निर्धारण र परियोजनाको शीघ्र सम्पन्नता सुनिश्चित गर्दछ। खरिदसम्बन्धी मापदण्डहरूले विक्रेताको ‘पासपोर्ट’ (वा परिचय) लाई नभई उपकरणको वास्तविक कार्यक्षमता र विश्वसनीयतालाई मूल्याङ्कन गर्नुपर्छ।”

नेपाल टेलिकमको नेटवर्क विस्तार मोबाइल सेवाको पहुँच, क्षमता र गुणस्तर सुधारसँग जोडिएको छ। यस्तो ठूलो परिमाणको खरिदमा पर्याप्त प्रतिस्पर्धा सुनिश्चित गर्नु महत्त्वपूर्ण हुने सरोकारवालाको भनाइ छ। उनीहरूका अनुसार खरिदमा उत्पादनको देशभन्दा प्राविधिक क्षमता, गुणस्तर, मूल्य, आपूर्ति सुनिश्चितता र बिक्रीपछिको सेवाजस्ता मापदण्डलाई प्राथमिकता दिनुपर्छ।

सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले पनि नेटवर्क विस्तारलाई तीव्रता दिनुपर्ने आवश्यकता औंल्याएको सन्दर्भमा खरिदका सर्तले परियोजनाको गति र लागतमा पार्न सक्ने प्रभावबारे चासो व्यक्त गरिएको छ।

विश्व बजारमा एसियाली उत्पादकको उपस्थिति

दूरसञ्चार पूर्वाधारको विश्व बजारमा चीन र भारतका उत्पादकको उपस्थिति उल्लेख्य छ। उपलब्ध उद्योग तथ्यांकअनुसार चीनमा सन् २०२२ मा करिब ६५ लाख ८० हजार बेस स्टेसन एण्टेना उत्पादन भएको थियो। चिनियाँ कम्पनी टोङ्यु कम्युनिकेसनले त्यही वर्ष करिब ५ लाख ९५ हजार एण्टेना उत्पादन गरेको विवरण सार्वजनिक गरेको छ।

चाइना युनिकमको केन्द्रीकृत खरिद प्रक्रियामा करिब १३ लाख ५० हजार एण्टेनामध्ये कोम्बा टेलिकमले ३७.५ प्रतिशत हिस्सा पाएको विवरण छ। हुवावे, कोम्बा टेलिकम, टोङ्यु, हेङ्सिन तथा सीआईसीटी/फाइबरहोमजस्ता कम्पनीले दूरसञ्चार उपकरण तथा पूर्वाधार क्षेत्रमा काम गर्दै आएका छन्।

सन् २०२३ को एबीआई रिसर्च ले प्यासिभ सेलुलर एण्टेना बजारसम्बन्धी मूल्यांकनमा हुवावेलाई विश्व बजारको अग्रणी कम्पनीका रूपमा उल्लेख गरिएको थियो। उक्त मूल्यांकनमा कम्पनीको बजार हिस्सा करिब ३८.९३ प्रतिशत रहेको जनाइएको छ। यद्यपि, यस्तो बजार हिस्साको दायरा र गणनाको आधार स्पष्ट हुनु आवश्यक छ।

भारतमा पनि एण्टेना उत्पादन विस्तार भइरहेको छ। एरिक्सनले भारतीय बजारका लागि प्यासिभ एण्टेनाको स्थानीय उत्पादन बढाउने र भारतमा निर्मित एण्टेना अन्य बजारमा निर्यात गर्ने योजना सार्वजनिक गरेको छ।

सार्वजनिक खरिद कानुनको प्रश्न

सार्वजनिक खरिद ऐन, २०६३ को दफा १० का व्यवस्थाले बोलपत्रदाताको योग्यता निर्धारण गर्दा भेदभावरहित र समान मापदण्ड अपनाउनुपर्ने विषय समेटेको छ। दफा १०(३) ले खास वर्गका आपूर्तिकर्तालाई मात्र सहभागी गराउने वा कुनै वर्गलाई सहभागी हुन नदिने गरी योग्यता निर्धारण गर्न नहुने व्यवस्था गरेको छ। दफा १०(४) ले योग्यता तथा मूल्यांकनका आधार सबै बोलपत्रदातामा समान रूपमा लागू हुनुपर्ने व्यवस्था गरेको छ।

यस सन्दर्भमा उत्पादन देशका आधारमा आपूर्तिकर्तालाई योग्य वा अयोग्य ठहराउने प्रावधान राखिए त्यसको कानुनी आधार र प्राविधिक औचित्य स्पष्ट हुनुपर्ने सरोकारवालाको तर्क छ। यद्यपि, कुनै निश्चित खरिद सर्त कानुनविपरीत हुन्छ वा हुँदैन भन्ने निष्कर्ष निकाल्न प्रस्तावित आरएफपी, लागू हुने नियम र खरिदसम्बन्धी अन्य प्रावधानको समेत परीक्षण आवश्यक हुन्छ।

उत्पादन देशभन्दा प्राविधिक परीक्षणमा जोड

एण्टेनाको गुणस्तर मूल्यांकन गर्न रेडियो फ्रिक्वेन्सी प्रदर्शन, यान्त्रिक क्षमता, वातावरणीय सहनशीलता र उत्पादनको गुणस्तर परीक्षण गर्न सकिने प्राविधिक विज्ञहरूको तर्क छ। गेन, भीएसडब्लूआर, रेडिएसन प्याटर्न, प्यासिभ इन्टरमोडुलेसन (पीआईएम), क्रस-पोलर डिस्क्रिमिनेसन र पावर ह्यान्डलिङजस्ता सूचकबाट एण्टेनाको कार्यक्षमता परीक्षण गर्न सकिन्छ।
त्यस्तै, हावाको चाप सहने क्षमता, तापक्रम तथा आर्द्रतामा टिकाउपन, क्षरण प्रतिरोध, पानी प्रवेशविरुद्धको सुरक्षा, कारखाना परीक्षण, गुणस्तर व्यवस्थापन प्रणाली, वारेन्टी र बिक्रीपछिको सेवाजस्ता पक्ष पनि मूल्यांकनका आधार बन्न सक्छन्। सरोकारवालाका अनुसार यी परीक्षणमा तोकिएको मापदण्ड पूरा गर्ने उत्पादकलाई उत्पादन भएको देशकै आधारमा अयोग्य ठहराउँदा उपलब्ध आपूर्तिकर्ताको दायरा साँघुरिन सक्छ ।

लागत र आपूर्ति समयको प्रभाव

करिब १ हजार ६ सय साइट विस्तारका लागि आवश्यक उपकरणको खरिदमा आपूर्तिकर्ताबीचको प्रतिस्पर्धाले मूल्य निर्धारणमा भूमिका खेल्छ। योग्य आपूर्तिकर्ताको संख्या घटेमा मूल्यमा प्रतिस्पर्धात्मक दबाब कम हुन सक्ने र उपकरणको छनोट सीमित हुन सक्ने चिन्ता व्यक्त गरिएको छ।

त्यस्तै, निश्चित अवधिभित्र उपकरण आपूर्ति गर्नुपर्ने अवस्थामा एकभन्दा बढी योग्य आपूर्ति स्रोत उपलब्ध हुनु महत्त्वपूर्ण हुन्छ। एण्टेनाको प्रारम्भिक खरिद मूल्यसँगै ढुवानी, जडान, नेटवर्कमा एकीकरण, विद्युत् खपत, मर्मतसम्भार र समग्र नेटवर्क प्रदर्शनलाई समेत मूल्यांकन गर्नुपर्ने सरोकारवालाको भनाइ छ।

नेपाल टेलिकमले अन्तिम खरिद सर्त तय गर्दा प्राविधिक विश्वसनीयता, कानुनी स्पष्टता, प्रतिस्पर्धा र दीर्घकालीन लागतबीच सन्तुलन कायम गर्नुपर्ने उनीहरूको सुझाव छ।

प्रकाशित मिति : October 8, 2026 at 10:50 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/