एनआरएनका लागि सेयर निष्कासनको बाटो खुल्यो, ८५ प्रतिशतसम्म सेयर निष्काशन गर्न पाइने
२० असोज, काठमाडौं । गैरआवासीय नेपाली (एनआरएन) लाई नेपालको प्राथमिक सेयर बजारमा प्रत्यक्ष जोड्ने गरी नयाँ व्यवस्था गरेको छ। ‘धितोपत्र दर्ता तथा निष्काशन (आठौं संशोधन) नियमावली, २०८३’ जारी गर्दै सरकारले एनआरएन तथा गैरआवासीय नेपाली संघसँग सम्बन्धित लगानीकर्तालाई लक्षित गरी सेयर निष्काशन गर्न सकिने बाटो खुला गरेको हो।
संशोधित नियमावलीअनुसार यस्तो व्यवस्थाअन्तर्गत सेयर निष्काशन गर्ने कम्पनीले आफ्नो जारी पूँजीको न्यूनतम १० प्रतिशतदेखि अधिकतम ८५ प्रतिशतसम्म सेयर निष्काशन गर्न सक्नेछन्। यसले एनआरएन लगानीकर्तालाई लक्षित गरेर पूँजी उठाउन चाहने कम्पनीका लागि प्राथमिक बजारमा छुट्टै अवसर सिर्जना गरेको छ। यसरी निष्कासन गरिने सेयरमा भने प्रिमियम थप गर्न पाइने छैन। अर्थात् कम्पनीले यस्तो सेयर अंकित मूल्यभन्दा बढी मूल्यमा प्रिमियम जोडेर निष्कासन गर्न पाउने छैन।

संशोधित नियमावलीले यस्तो सेयरको कारोबारका लागि पनि छुट्टै व्यवस्था गरेको छ। निष्कासन गरिएको सेयरको कारोबार धितोपत्र बजारले व्यवस्था गरेबमोजिम हुनेछ। यस्तो सेयरको कारोबार गर्दा न्यूनतम इकाइ १ हजार कित्ता हुने व्यवस्था गरिएको छ।
सरकारले धितोपत्रसम्बन्धी ऐन, २०६३ को दफा ११६ ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारको स्वीकृति लिएर नियमावली संशोधन गरेको हो। संशोधित नियमावली नेपाल धितोपत्र बोर्डले तोकेको मितिदेखि लागू हुनेछ।

प्रकाशित मिति : October 6, 2026 at 4:27 pm






