२० आश्विन २०८३, मंगलबार | Tue Oct 6 2026

निगमलाई ग्यास विक्रेताले भन्योः उद्योगबाट खुद्रा बिक्री गर्न बन्द गर्नु

२० असोज काठमाडौं । नेपालमा खाना पकाउने ग्यासको अभाव चुलिँदै गएको र उपभोक्ताले सास्ती खेप्नुपरेको भन्दै ग्यास बिक्रेता महासंघ नेपालले आयल निगमको ध्यानाकर्षण गराएको छ । महासंघले निगमका कार्यकारी निर्देशक नागेन्द्र साहलाई ज्ञापनपत्र बुझाउँदै उद्योगहरूबाट भइरहेको ग्यासको खुद्रा बिक्री तत्काल बन्द गरी डिलरमार्फत मात्र बिक्री वितरणको व्यवस्था मिलाउन माग गरेको हो । महासंघका अनुसार २०८२ साल फागुनदेखि नेपालमा खाना पकाउने ग्यासको अभाव बढ्दै गएको छ। लामो समयदेखि उपभोक्ताले सहज रूपमा ग्यास पाउन नसकेको उल्लेख गर्दै महासंघले बजारमा आवश्यकताभन्दा बढी सिलिन्डर रहेको विषयलाई अभावको प्रमुख कारणका रूपमा औँल्याएको छ।

बजारमा अनावश्यक सिलिन्डरको संख्या बढिरहेको स्वीकार गरिए पनि विभिन्न ग्यास उद्योगले प्रतिगोटा २ हजार ५०० देखि २ हजार ७०० रुपैयाँसम्ममा नयाँ सिलिन्डर बिक्री गरिरहेको महासंघको भनाइ छ। यस्तो अवस्थामा पनि नेपाल आयल निगम र सरकारले प्रभावकारी कदम नचालेको भन्दै महासंघले उद्योगी, निगम र सरकारको भूमिकामाथि प्रश्न उठाएको छ।

बजारमा रहेका अनावश्यक सिलिण्डरको धरौटी रकम फिर्ता गर्नुको सट्टा आगामी वर्षहरूमा आम उपभोक्तालाई लुट्ने उद्देश्यले ५ किलो, १९ किलो, ५० किलो र ४५० किलोका नयाँ सिलिन्डर बिक्री गर्ने योजना ल्याइएको भन्दै त्यस्तो योजना सभ्य समाजलाई स्वीकार्य नहुने महासंघको चेतावनी छ । ग्यास वितरण प्रणालीलाई पारदर्शी र व्यवस्थित बनाउन महासंघले मुख्यतया उद्योगबाट निरन्तर भइरहेको खुद्रा बिक्री तत्काल बन्द गरी डिलरमार्फत मात्र ग्यास बिक्री गर्ने व्यवस्था मिलाउन निगमको ध्यानाकर्षण गराएको छ ।

साथै, ग्यास अभाव समस्याको सही पहिचान गरी सरोकारवालाहरूसँगको परामर्शमा सहज आपूर्ति मिलाउन र हाल सर्वसाधारणले प्रयोग गरिरहेको १४.२ किलो ग्यास सिलिन्डरको उचित व्यवस्थापन गर्न पनि निगमसमक्ष माग गरिएको छ ।

प्रकाशित मिति : October 6, 2026 at 12:46 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/