ओशो तपोवनको भन्दै जोडीको भिडियो भाइरल भएपछि बोलिन सोभिता
१९ असोज, काठमाडौं । सामाजिक सञ्जालमा केही दिनयता जोडीहरू काखमा कसिएर बसेको एउटा भिडियो तथा तस्बिरलाई नेपालस्थित ओशो आश्रमसँग जोडेर व्यापक रूपमा शेयर गरिएपछि ओशो सन्यासी सोभिता सिंखडाले त्यसप्रति आपत्ति जनाएकी छन्।
सामाजिक सञ्जालमा भाइरल सामग्रीलाई कतिपयले ओशो तपोवनको दृश्य भन्दै प्रचार गरेको भन्दै सिंखडाले उक्त भिडियो ओशो तपोवनको नभएको स्पष्ट पारेकी हुन्। उनले ओशो तपोवन तथा त्यससँग आबद्ध आश्रमहरूमा त्यस्ता गतिविधि नहुने दाबी गरेकी छन्।
फेसबुकमा स्टाटस लेख्दै सिंखडाले सामाजिक सञ्जालमा कुनै सामग्री देख्नेबित्तिकै त्यसको स्रोत, सत्यता र आधिकारिकता नबुझी शेयर गर्ने प्रवृत्ति गम्भीर समस्या बन्दै गएको बताएकी छन्।

उनले एउटा गलत क्याप्सन, झुटो दाबी र हतारमा गरिएको एउटा शेयरले वर्षौँदेखि निर्माण भएको कुनै संस्था, आश्रम वा व्यक्तिको विश्वास, प्रतिष्ठा र सामाजिक साखमाथि अनावश्यक चोट पुर्याउन सक्ने उल्लेख गरेकी छन्।
‘तपाईंले बोलेका शब्दले केवल अरूको बारेमा बताउँदैनन्; ती शब्दले तपाईंको चेतना, संस्कार, विवेक र सत्यप्रतिको जिम्मेवारी पनि देखाउँछन्,’ सिंखडाले भनेकी छन्।
उनले ओशो तपोवन केवल एउटा नाम वा भौतिक स्थान मात्र नभई ध्यान, साधना, मौन, प्रकृति र आन्तरिक रूपान्तरणसँग जोडिएको आध्यात्मिक स्थल भएको बताएकी छन्। सामाजिक सञ्जालमा देखिने केही सेकेन्डको भिडियो वा कसैले लेखिदिएको क्याप्सनका आधारमा यसको वास्तविकता बुझ्न नसकिने उनको भनाइ छ।
सिंखडाले आश्रमबारे धारणा बनाउनुअघि स्वयं त्यहाँ पुगेर वास्तविकता बुझ्नसमेत आग्रह गरेकी छन्। उनले कम्तीमा एक हप्ता समय निकालेर ओशो आश्रममा आउन, त्यहाँको वातावरण हेर्न, ध्यानमा बस्न, साधकहरूसँग भेटघाट गर्न र आश्रमको जीवनशैली बुझेर मात्र आफ्नो धारणा बनाउन सुझाव दिएकी छन्।
‘बाहिर बसेर अफवाह सुन्नुभन्दा एकपटक स्वयं पुगेर सत्य अनुभव गर्नु बुद्धिमानी हो,’ उनले भनेकी छन्।
सामाजिक सञ्जालमा भाइरल भएको उक्त भिडियोको वास्तविक स्रोत र स्थानबारे भने सिंखडाले आफ्नो स्टाटसमा थप विवरण खुलाएकी छैनन्। तर भिडियो ओशो तपोवनको नभएको उनको स्पष्टोक्ति सार्वजनिक भएपछि उक्त सामग्रीसँग जोडेर भइरहेको प्रचारबारे थप बहस सुरु भएको छ।
प्रकाशित मिति : October 5, 2026 at 11:07 pm






