‘बलियो जिप’ चाहियो भन्दै विशेष अदालतका अध्यक्षका लागि मागियो नयाँ गाडी
१८ असोज, काठमाडौं । विशेष अदालतले अदालतका अध्यक्षका लागि नयाँ गाडी उपलब्ध गराइदिन अर्थ मन्त्रालयसँग माग गरेको छ। विशेष अदालतका रजिस्ट्रार वेदप्रसाद उप्रेतीले अर्थ मन्त्रालयका सचिवलाई पत्र पठाउँदै अदालतका अध्यक्ष न्यायाधीश बासुदेव आचार्यका लागि कार्यालय प्रयोजनमा उपयुक्त गाडी उपलब्ध गराइदिन अनुरोध गरेका हुन् ।
पत्रमा अध्यक्ष आचार्यले सुविधाबापत प्राप्त बा.२ झ. २५२८ नम्बरको गाडी विगतदेखि हालसम्म प्रयोग गर्दै आएको उल्लेख छ। उक्त गाडी पुरानो भइसकेकाले परिवर्तन गर्न आवश्यक भए पनि तत्काल नयाँ गाडी उपलब्ध गराउन नसकिएको अदालतले जनाएको छ ।

विशेष अदालतको क्षेत्राधिकार रहेका विभिन्न जिल्लामा फैसला कार्यान्वयनको अवस्थाबारे अनुगमन तथा निरीक्षण गर्नुपर्ने भएकाले बलियो जिप प्रकारको गाडी आवश्यक रहेको पत्रमा उल्लेख गरिएको छ।
अदालतले अध्यक्षको प्रयोग तथा कार्यालय प्रयोजनका लागि उपयुक्त गाडी उपलब्ध गराइदिन अर्थ मन्त्रालयसँग अनुरोध गरेको हो । पत्रसँगै हाल प्रयोग भइरहेको गाडीको ब्लुबुकको फोटोकपीसमेत संलग्न गरिएको जनाएको छ । विशेष अदालतले २०८३ भदाै २४ गते अर्थ मन्त्रालयलाई पत्र पठाइएको भए पनि मिडियाका लागि ढिलोमात्र उपलब्ध गराइएको छ ।

प्रकाशित मिति : October 4, 2026 at 4:51 pm






