गगन थापालाई रेशम चौधरीको प्रश्नः गणतन्त्रसँगै हाम्रो धर्म किन साटियो ?
१८ असोज, काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशमलाल चौधरीले १९ दिने आन्दोलन र त्यसपछि आएको गणतन्त्रसँगै किन हाम्रो धर्म साटियो भनेर कांग्रेस सभापति गगन थापालाई प्रश्न गरेका छन् । आइतबार काठमाडौँमा सुरु भएको कांग्रेसको १५ औँ महाधिवेशनको शुभकामना दिँदै नेता चौधरीले थापालाई यस्तो प्रश्न गरेका हुन् ।
चौधरीले १९ दिने जनआन्दोलनमा कांग्रेस सभापति थापाले टाउकोमा कफन बाँधेर गणतन्त्रको नारा लगाएको भन्दै प्रशंसा गरे । आफू पनि त्यो आन्दोलनमा सहभागी भएको उनले बताए । चौधरीले भने, ‘गगनजी, त्यो आन्दोलनमा हामीले पनि लाठी खायौँ । पानीको फोहरा खायौँ । देशमा गणतन्त्र ल्यायौँ तर, तर त्यो १९ दिने जनआन्दोलनमा गणतन्त्रसँगै मेरो धर्म किन साटियो ?’

उनले पहिचानसँग कुनै पनि कुरा साट्न नपाइन् उल्लेख गरे । चौधरीले थपे, ‘हाम्रो पहिचानसँग कुनै कुराको साटफेर गर्न पाइँदैन । हाम्रो दशैंको जमरासँग कुनै चिजको साटफेर गर्नेवाला छैनौँ ।’ उनले संविधानमा लेखिएपनि थारुहरूले अधिकार नपाएको भन्दै थारुहरू कहिले प्रधानमन्त्री, प्रधानसेनापति र मुख्यसचिव कहिले हुने भन्दै थापालाई प्रश्न गरे ।
प्रकाशित मिति : October 4, 2026 at 4:37 pm






