विचौलिया भनिएका दीपक भट्टको नख्खुबाट सिन्धुपाल्चोक कारागार सरुवा
१८ असोज, काठमाडौं । ललितपुरको नख्खु कारागारमा पुर्पक्षका लागि थुनामा रहेका व्यवसायी दीपक भट्टलाई सिन्धुपाल्चोक कारागार स्थानान्तरण गरिएको छ।
पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ परेको घटनासँगै उनीसँग जोडिएका व्यक्तिहरूको गतिविधिमाथि सुरक्षा निकायको चासो बढिरहेका बेला भट्टलाई नख्खुबाट सिन्धुपाल्चोक सारिएको हो। उनी माथि सत्ता पल्टाउने षडयन्त्रमा लागेको अभियोग छ ।
भट्टले कतिपय अवस्थामा कर्मचारीको सरूवा समेत जेलभित्रैबाट काम गर्दै आएको अभियोग लागेको थियो । कतिपयले गृहमन्त्री सुधन गुरूङलाई नै भट्टको प्रतिनिधिको रूपमा समेत चर्चा गर्ने गरेका छन । तर त्यस आरोपको स्वतन्त्र पुष्टि हुन सकेको छैन ।
कारागार कार्यालय नख्खुले शुक्रबार सिन्धुपाल्चोक कारागारलाई पठाएको पत्रमा कारागार व्यवस्थापन विभागको च.नं. ६२८ को निर्णयअनुसार भट्टलाई सक्कल फाइल तथा आवश्यक कागजातसहित सुरक्षा घेरामा स्थानान्तरण गरिएको उल्लेख छ।

कारागार प्रशासनका अनुसार भट्ट सम्पत्ति शुद्धीकरण, भ्रष्टाचार तथा बैंकिङ कसुरसम्बन्धी मुद्दामा पुर्पक्षका लागि नख्खु कारागारमा थुनामा थिए। उनको बन्दी आईडी ८४७३६१७ रहेको कारागार प्रशासनले जनाएको छ।
भट्टको सरुवाको निर्णयलाई पछिल्लो समय पूर्वप्रधानन्यायाधीश जबरासँग जोडिएका गतिविधिसँग सम्बन्धित सुरक्षा चासोका रूपमा हेरिएको छ। यद्यपि, भट्टको सरुवाको आधिकारिक कारण भने कारागार व्यवस्थापन विभागको निर्णयमा विस्तृत रूपमा खुलाइएको छैन।
भट्टलाई सिन्धुपाल्चोक कारागारमा सुरक्षा व्यवस्थासहित बुझाइ भर्पाई पठाउन नख्खु कारागारका प्रशासक दीर्घराज उपाध्यायले निर्देशन दिएका छन्।
यसैबीच, नेपाल प्रहरीको विशेष ब्युरोले जबरासँग निकट रहेको भनिएका इनाम सापकोटालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिएर सोधपुछ गरेको थियो। नयाँ दिल्ली हुँदै दुबई जान लागेका सापकोटालाई प्रहरीले नियन्त्रणमा लिएर मोबाइल जाँच तथा सोधपुछपछि छाडेको बताइएको छ।
सापकोटासँगको सोधपुछका क्रममा प्राप्त सूचनाका आधारमा जबरा, भट्ट तथा व्यवसायी सुलभ अग्रवालबीच सम्पर्क रहेको निष्कर्षमा प्रहरी पुगेको दाबी गरिएको छ। यद्यपि, उनीहरूबीचको सम्पर्क वा कुनै गतिविधि कानूनविपरीत रहेको भन्ने विषयमा स्वतन्त्र पुष्टि हुन बाँकी छ।

प्रकाशित मिति : October 4, 2026 at 7:34 am






