विकल पौडेल अर्को मुद्दामा पनि भ्रष्टाचारी ठहर, ४२ करोड जरिवाना
१७ असोज, काठमाडौँ । गैरकानूनी सम्पत्ति आर्जन गरेको भ्रष्टाचार मुद्दामा विशेष अदालत काठमाडौँले सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेललाई दोषी ठहर गर्दै साढे दुई वर्ष कैद र ४१ करोड ९४ लाख रुपैयाँभन्दा बढी जरिवाना र सोही बराबरको सम्पत्ति जफत गर्ने फैसला सुनाएको छ। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको प्रिय पात्र मानिएका पौडेल यसअघि पनि विभिन्न मुद्दामा भ्रष्टाचारी ठहर भएर जेलमै बसिरहेका छन ।
विशेष अदालतका अध्यक्ष वासुदेव आचार्य, सदस्यहरू उमेश कोइराला र विदुर कोइरालाको संयुक्त इजलासले असोज १६ गते फैसला सुनाउँदै पाैडेललाई अर्को मुद्दामा पनि भ्रष्टाचारी ठहर गरेको हो । अदालतले पौडेलको जाँच अवधिमा वैध आयको तुलनामा गैरकानूनी रूपमा अस्वाभाविक सम्पत्ति आर्जन गरी खर्च गरेको ठहर गरेको छ।

विशेष अदालतले विकल पौडेलको समग्र जाँच अवधिको आय र व्ययको विस्तृत हिसाब-किताब गरी गैरकानूनी सम्पत्ति किटान नै गरेको छ । पाैडेलको खुद वैध आय ४,१६,७९,०१८/२७ (चार करोड सोह्र लाख उनान्सी हजार अठार रुपैयाँ सत्ताइस पैसा) हो । तर सोही सयममा उनले ४६,११,५२,३०१/१२ (छयालीस करोड एघार लाख बाउन्न हजार तीन सय एक रुपैयाँ बार पैसा) खर्च गरेका छन ।
अदालतले आम्दानी र खर्चको बीचको सन्तुलन हेरेर स्रोत नखुल्ने ४१,९४,७३,२८२/८५ (एकचालीस करोड चौरानब्बे लाख त्रिहत्तर हजार दुई सय बयासी रुपैयाँ पचासी पैसा) बढी खर्च तथा आर्जन गरेको पुष्टि गरेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जाँच अवधिलाई खण्डीकरण गरेर हिसाब गरेको भए पनि सर्वोच्च अदालतको प्रतिपादित सिद्धान्त अनुकूल नदेखिएकाले अदालतले समग्र जाँच अवधिको एकमुष्ट हिसाब गरी यो निष्कर्ष निकालेको फैसलामा उल्लेख छ ।
कुन-कुन शीर्षकका आय स्वीकृत र अस्वीकृत भए ?
अदालतले विकलको दाबी र मिसिल संलग्न प्रमाणहरूको विश्लेषण गरी निम्न अनुसार आय कायम गरेको छ:
तलब तथा भत्ता: अख्तियारले कायम गरेको रु. ३०,९२,००५/६९ लाई नै स्वीकृत गरिएको छ । वैदेशिक भ्रमण भत्ताको थप दाबी पर्याप्त प्रमाणको अभावमा अस्वीकार गरिएको छ।
सेयर बिक्री आय: सिडिएस क्लेरिङ लिमिटेड (CDS Clearing Ltd) को विवरण अनुसार २७,७२,२९७/- आय कायम गरिएको छ ।
अंश भरपाई: बाबुबाट प्राप्त गरेको २५,००,०००/- नगदलाई आयमा गणना गरिएको छ ।
विप्रेषण (रेमिट्यान्स): पत्नी एलिना बस्नेतको खातामा आफैँले पठाएको रकम पुष्टि भए बमोजिम खुद रु. २,८४,२४,०००/- रेमिट्यान्स आय कायम भएको छ ।
स्वदेशी परामर्श सेवा: सरकारी निकायहरूबाट कार्यालय समय बाहेकको समयमा परामर्श सेवा प्रदान गरी प्राप्त गरेको रु. ६,७५,०००/- आयमा समावेश गरिएको छ ।
अस्वीकृत दाबीहरू: सार्वजनिक पदमा बहाल रहँदा अनुमति बिना वैदेशिक कम्पनीहरूलाई परामर्श दिएको भन्दै दाबी गरिएको रु. २,७७,७५,३८४/६१ लाई अदालतले अवैध ठहर गर्दै आयमा गणना गर्न अस्वीकार गरेको छ । यसका साथै घरजग्गा बहाल (रु. २.९० करोड), सवारी साधन बिक्री (रु. ३८.५० लाख), विदेशी मुद्रा सटही (रु. २२.३८ लाख) र पारिवारिक कम्पनीको लाभांश (रु. १२.२३ लाख) सम्बन्धी दाबीहरू पनि छुट्टिभिन्न भइसकेका नातेदारको नाममा रहेकाले अस्वीकृत भएका छन्।

विदेशमा बैंक मौज्दात र अमेरिकी रोबिनहुडमा लगानी
पौडेलले गैरकानूनी रूपमा आर्जन गरेको रकम स्वदेश तथा विदेशका बैंक खाता र सेयर बजारमा लगानी गरेको अदालतको ठहर छ ।
सिंगापुर स्थित UOB बैंक: सिंगापुरको युनाइटेड ओभरसिज बैंक (UOB) मा पौडेलको नाममा रहेको खातामा जम्मा भएको रु. २५,२३,४५,७४२/७३ लाई वैदेशिक व्ययमा गणना गरिएको छ ।
अमेरिकी रोबिनहुड लगानी: पारस्परिक कानूनी सहायता (MLA) मार्फत प्राप्त प्रमाणका आधारमा अमेरिकास्थित रोबिनहुड सेक्युरिटिजमा गरिएको रु. ८,४७,६०,४४६/८८ र रोबिनहुड मार्केटको धितोपत्र खरिदमा गरिएको रु. ४,६२,३६,८२९/२२ लगानी व्यय ठहर भएको छ ।
अस्वीकृत व्यय दाबी: अख्तियारले दाबी गरेको हिरा, जवाहरात र सुनतर्फको रु. १,२३,९३,८७५/- बिल-भर्पाई पेश हुन नआएको र बरामद समेत नभएकाले व्ययमा समावेश गरिएको छैन । त्यसैगरी अमेरिकामा चिकित्सक पेशामा रहेकी पत्नी एलिना बस्नेतको बैंकिङ खाता तथा संयुक्त खाताको रकमलाई पौडेलको व्ययबाट अलग राखिएको छ।
सजाय र जरिवाना
विशेष अदालतले विकल पौडेललाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (१) बमोजिम कसूरदार ठहर गरेको छ । दफा २०(२) बमोजिम २ वर्ष कैद, बिगो बमोजिम रु. ४१,९४,७३,२८२/८५ (एकचालीस करोड चौरानब्बे लाख त्रिहत्तर हजार दुई सय बयासी रुपैयाँ पचासी पैसा) जरिवाना र सोही बिगो बराबरको सम्पत्ति जफत हुने फैसला गरेको छ । त्यस्तै सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक जस्तो विशिष्ट सार्वजनिक पदमा बहाल रहेको अवस्थामा भ्रष्टाचार गरेकाले ऐनको दफा २४ बमोजिम थप ६ महिना कैद हुने ठहर गरिएको छ । यस फैसला अनुसार प्रतिवादी विकल पौडेलले कुल २ वर्ष ६ महिना कैद भुक्तान गर्नुपर्नेछ ।
प्रकाशित मिति : October 3, 2026 at 7:26 am






