१६ आश्विन २०८३, शुक्रबार | Fri Oct 2 2026

वीरगञ्जको सूर्या अस्पतालको अलपरवाहीले २७ वर्षीया गुञा सिंहका दुबै मिर्गौला फेल

१६ असोज, वीरगञ्ज । वीरगञ्जस्थित सूर्या अस्पतालमा सामान्य स्वास्थ्य परीक्षणका लागि पुगेकी २७ वर्षीया गर्भवती महिला गुञा सिंह चिकित्सकीय लापरवाही र गैरजिम्मेवार व्यवहारका कारण दुवै मिर्गौला फेल भई काठमाडौँस्थित मेडिसिटी अस्पतालमा जीवन-मरणको दोसाधमा पुगेकी छन् । मेडिकल काउन्सिलको मापदण्ड र आपत्कालीन उपचार प्रोटोकलको घोर उल्लङ्घन गर्दै गरिएको उपचारका कारण नवजात शिशुकी आमा गुञाको स्वास्थ्य स्थिति अत्यन्तै गम्भीर बनेको छ ।

सामान्य जाँचबाट सुरु भएको दर्दनाक यात्रा

२०८३ असोज ८ गते बिहान करिब ११ बजे २७ वर्षीया गुञा सिंहलाई नियमित जाँचका लागि सूर्या अस्पताल पुर्‍याइएको थियो। डा. मोनिका सिंह यादवले गराएको भिडियो एक्सरे (Ultrasound) मा गर्भको बच्चालाई सालबाट जाने रगत कम भएको (Placental Insufficiency) देखिएको थियो । करिब ३७ हप्ताको गर्भ र बच्चाको तौल २.५ किलोग्राम भइसकेको अवस्थामा तत्काल शल्यक्रिया (सी-सेक्सन) गर्नुपर्नेमा उल्टै ३ दिनपछि शल्यक्रिया गर्ने भन्दै क्याबिनमा भर्ना गरियो।

क्याबिनमा भर्ना गरेपछि इमेर्जेन्सीमा खोलिएको क्यानुलाबाट १ घण्टासम्म सलाइन नगएपछि आफन्तले नर्सलाई बारम्बार बोलाएका थिए । करिब ३० मिनेटपछि आएकी नर्सले झोकिँदै सिरिन्जमार्फत क्यानुलामा जोडले ‘Push’ गरेपछि गुञालाई तुरुन्तै छाती र ढाडमा कडा दुखाइ सुरु भयो, आँखा रातो भयो र शरीर काप्न थाल्यो ।

बिरामीको अत्तालिँदो अवस्था देखेर आफन्तले गुहार्दा डा. मोनिका सिंह यादवले उल्टै “बिरामीले नाटक/ओभरएक्टिङ गरिरहेकी छे” भन्दै गालीगलौज गरिन् । त्यतिबेला बिरामीको रक्तचाप ९०/४४ mmHg मा झरिसकेको थियो । एनाफाइल्याक्टिक शक (Anaphylactic shock) वा क्यानुला ‘पुस’ का कारण थ्रोम्बो-एम्बोलिजम (Thrombo-embolism) भएको आशङ्काबीच एभिल (Avil) र डेक्सोना (Dexona) दिइयो, तर आपत्कालीन अवस्थामा अनिवार्य मानिने Epinephrine भने दिइएन।

बिना परीक्षण शल्यक्रिया, कागजात हेरफेर

बच्चाको धड्कन घटेको बहानामा कुनै पनि रगत परीक्षण (Hb, Platelets, RFT, PT/INR) र रगतको पूर्वतयारी (Blood Arrangement) नगरिकनै बिरामीलाई जनरल एनेस्थेसिया (GA) दिएर शल्यक्रिया कक्ष (OT) मा लगियो । अस्पतालको कागजातमा गम्भीर त्रुटि र हेरफेर देखिएको छ । मेडिकल अफिसरको नोटमा राति ८:४५ बजे शल्यक्रिया (CS) भएको उल्लेख छ भने नर्सको नोटमा राति ९:०० बजे नै पोस्ट-अपरेटिभ भिटल्स लिइएको उल्लेख छ । १५ मिनेटको छोटो अवधिमा शल्यक्रिया सकिएर भिटल्स लिनु असम्भवप्रायः हुने भएकाले कागजात मिलाइएको शंका गरिएको छ । साथै, डा. मोनिकाले भित्र केही छुटेको छ कि भन्ने शंकामा आफूले पेट दुई पटक खोलेर हेरेको बिरामीको सासूलाई स्वीकार गरे पनि सो कुरा शल्यक्रिया नोट (Operation Note) मा लुकाइएको छ ।

शल्यक्रियापछि गुञाको ओटी गाउन रगतले लतपतिएको अवस्थामा देख्दा सोधपुछ गर्दा चिकित्सक तथा नर्सहरूले आफन्तलाई हप्काएर बाहिर निकालेका थिए । शल्यक्रियापछि ५-६ घण्टासम्म पिसाब नआउँदा ४ लिटर (८ पिन्ट) सलाइन चलाइयो, जसले Hemodilution गराएर मिर्गौलामा रगतको प्रवाह थप घटाउन पुग्यो। पिसाब पूर्ण रूपमा ठप्प (Urine Output Nil) भएको अवस्थामा मिर्गौलाका लागि अत्यन्त हानिकारक मानिने MgSO4 (म्याग्नेसियम सल्फेट) जस्तो नेफ्रोटक्सिक औषधि दिइयो । राति १० बजेदेखि बिहान ६ बजेसम्म पिसाब नआउँदा पनि न त कुनै विशेषज्ञ डाक्टरलाई परामर्श गरियो, न त माथिल्लो केन्द्रमा रिफर नै गरियो ।

२४ घण्टापछि मात्र रगत जाँच 

२०८३ असोज ९ गते बिहान १० बजे मात्रै बिरामीका दुवै मिर्गौला फेल भएको जानकारी दिइयो र दिउँसो ४ बजे डायलिसिसका लागि अर्को अस्पताल पठाइयो । शल्यक्रियाको २४ घण्टापछि राति ७:३0 बजे मात्र पहिलो पटक रगत जाँच गर्दा: सेतो रक्तकोष (WBC): २६,००० (कडा संक्रमण) प्लेटलेट्स (Platelets): ५०,००० (अत्यधिक कमी) प्रोक्याल्सिटोनिन (Procalcitonin): ६९ (शरीरभरि संक्रमण फैलिएको प्रमाण) डायलिसिस सेन्टरका कर्मचारीहरूका अनुसार डा. मोनिकाले शल्यक्रिया गरेका अन्य धेरै बिरामीहरूको पनि मिर्गौला क्षति भएर सोही ठाउँमा डायलिसिसका लागि आउने गरेको खुलेको छ।

असोज १० गते दोस्रो पटक डायलिसिस गर्दा पनि स्वास्थ्यमा सुधार नआएपछि गुञालाई चितवनस्थित सीएमसी (CMC) अस्पताल लगिएको थियो । त्यहाँ सीटी स्क्यान गर्दा दुवै मिर्गौला पूर्ण रूपमा काम नगर्ने (Non-functional) भएको र शल्यक्रिया गरिएको ठाउँबाट निरन्तर रगत बगिरहेको (Oozing) पाइयो । अवस्था नियन्त्रण बाहिर गएपछि उनलाई काठमाडौँस्थित मेडिसिटी अस्पताल रिफर गरिएको छ, जहाँ डाक्टरहरूका अनुसार उनका दुवै मिर्गौला पूर्ण रूपमा क्षतिग्रस्त भइसकेका छन् । पीडित पक्षले डा. मोनिका सिंह यादव र सूर्या अस्पतालको लाइसेन्स एवं मेडिकल मापदण्डमाथि कडा छानबिन गरी दोषीमाथि कडा भन्दा कडा कारबाहीको माग गर्दै उजुरी दर्ता गराएका छन्।

प्रकाशित मिति : October 2, 2026 at 5:58 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/