१६ आश्विन २०८३, शुक्रबार | Fri Oct 2 2026

मध्यरातमा टेकु अस्पतालका स्वास्थ्यकर्मी कुट्ने तीन जना पक्राउ

१६ असोज, काठमाडौं । काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा ड्युटीमा रहेका स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीमाथि गालीगलौज, धाकधम्की तथा हातपात गरेको आरोपमा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक दानबहादुर थापाले असोज १४ गते बिहान करिब १ बजे अस्पतालको आकस्मिक कक्षमा आएका व्यक्तिहरूले ड्युटीमा रहेका स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीलाई गालीगलौज, धाकधम्की दिँदै हातपातसमेत गरेको सूचना र सीसीटीभी फुटेजको विश्लेषणको आधारमा उनीहरूलाई पक्राउ गरेको बताएका छन ।

थापाका अनुसार पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–४ बस्ने ४४ वर्षीय रामकुमार बुढाथोकी, सोही स्थानका २३ वर्षीय आयुष बुढाथोकी र २७ वर्षीय सचिन बुढाथोकी रहेका छन् । उनीहरू कीर्तिपुरको ग्रीन भ्यू पोइन्ट रिसोर्टको कार चढेर अस्पताल पुगेका थिए ।

पक्राउ परेकामाथि आवश्यक अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौंको अनुमति लिएर पाँच दिनको म्याद थप गरिएको थापाले बताएका छन । यसअघि दैनिकीले टेकु अस्पतालका स्वास्थ्यकर्मी माथि मध्यरातमा दूर्व्यवहार, गार्ड कुटिए शीर्षकमा समाचार प्रकाशित गरेको थियो ।

प्रहरीले कुटाइ खाने सुरक्षाकर्मीलाई उल्टै पक्राउ गरेर हिरासतमा राखेको विषयमा दैनिकीले खबरदारी गरेको थियो । कुटाइ खाएर उल्टै हिरासतमा पुगेका सुरक्षाकर्मी कैलाश ढकाल भने अहिले हिरासतमुक्त भएर काममा फर्किसकेका छन । प्रहरीले कुट्नेहरूकै सिकायतमा गार्डलाई एक घण्टापछि नियन्त्रणमा लिएको थियो भने कुट्नेहरू मध्ये दुई जनाको मापसे जाँच नगरी उनमुक्ति दिएको थियो ।

यस विषयमा दैनिकीले सीसीटिभी फुटेजसहितको भिडियो सामाग्री सम्प्रेषण गरेको थियो । सीसीटीभी फुटेज हेर्दा सुरक्षाकर्मी कुटपिट गर्ने र स्वस्थ्यकर्मीलाई दुर्व्यवहार गर्ने मध्येका दुई जना निकै असामान्य अवस्थामा देखिएका थिए ।

प्रकाशित मिति : October 2, 2026 at 4:59 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/