१६ आश्विन २०८३, शुक्रबार | Fri Oct 2 2026

विद्युत दुर्घटनामा घाइते भएका तामाङलाई प्राधिकरणले १७ लाख ७८ हजार क्षतिपूर्ति दिने

१६ असोज, काठमाडौं। नेपाल विद्युत् प्राधिकरणले विद्युत् दुर्घटनामा परी गम्भीर घाइते भएका रामेछापका विनोद तामाङलाई उपचार खर्चसहित १७ लाख ७८ हजार ६७६ रुपैयाँ उपलब्ध गराउने भएको छ ।प्राधिकरण सञ्चालक समितिको बैठकले रामेछाप नगरपालिका–५, सिमल भञ्ज्याङ खर्कभितेमा भएको विद्युत् दुर्घटनामा घाइते तामाङलाई उपचार खर्च, कुरुवा खर्च र अंगभंगबापतको क्षतिपूर्ति उपलब्ध गराउने निर्णय गरेको हो ।

२७ वर्षीय तामाङ ११ केभी वितरण लाइनको अस्थायी स्टेमा छुन पुग्दा करेन्ट लागेर दुर्घटनामा परेका थिए । दुर्घटनापछि उनको काठमाडौं मेडिकल कलेजमा उपचार गरिएको थियो । प्राधिकरणका अनुसार तामाङको उपचारमा ७ लाख १८ हजार ६७६ रुपैयाँ खर्च भएको थियो । अस्पतालमा भर्ना भएर उपचार गराएको ६० दिनको अवधिका लागि एक जना कुरुवाको खर्चबापत ६० हजार रुपैयाँ र पूर्ण अंगभंगबापत १० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय भएको हो । यसअनुसार तामाङले कुल १७ लाख ७८ हजार ६७६ रुपैयाँ पाउनेछन् ।

प्राधिकरणले यसअघि तामाङलाई पाँच लाख रुपैयाँ पेश्की दिइसकेको छ । प्राधिकरण मेडिकल बोर्डले उपचारसँग सम्बन्धित बिल, भरपाई, चिकित्सकीय प्रेस्क्रिप्सन तथा अन्य कागजात अध्ययन गरी उपचारमा लागेको खर्चमध्ये पेश्की कटाएर बाँकी रकम तथा दुर्घटना क्षतिपूर्ति भुक्तानीका लागि सिफारिस गरेको थियो ।

प्राधिकरण दुर्घटना क्षतिपूर्ति विनियमावली, २०६७ अनुसार दुई लाख रुपैयाँसम्मको उपचार खर्चका लागि उपचारमा संलग्न चिकित्सकको सिफारिस पर्याप्त हुने व्यवस्था छ । दुई लाख रुपैयाँभन्दा बढी उपचार खर्च भएमा प्राधिकरण मेडिकल बोर्डको सिफारिस आवश्यक पर्ने भएकाले तामाङको उपचार खर्चसम्बन्धी कागजात बोर्डबाट अध्ययन तथा सिफारिस गरिएको प्राधिकरणले जनाएको छ ।

विनियमावलीमा प्राधिकरणले काममा लगाएका म्यादी, करार तथा ज्यालादारी कामदार वा सर्वसाधारण व्यक्ति विद्युत् दुर्घटनामा परी मृत्यु वा घाइते भएमा उपचार तथा क्षतिपूर्ति उपलब्ध गराउने व्यवस्था छ । सामूहिक दुर्घटना बीमा नगरिएको अवस्थामा दुर्घटनाबाट मृत्यु वा गम्भीर क्षति भएमा प्रतिव्यक्ति १० लाख रुपैयाँसम्म क्षतिपूर्ति उपलब्ध गराउन सकिने व्यवस्था रहेको प्राधिकरणले जनाएको छ ।

प्रकाशित मिति : October 2, 2026 at 10:11 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/