१५ आश्विन २०८३, बिहिबार | Thu Oct 1 2026

प्रधानमन्त्रीलाई नेकपाको प्रश्नः तपाईँको पार्टी सभापति इन्जिनियर होइन, एभरेजमा पर्नुभयो कि बिलोमा?

१५ असोज, काठमाडौं। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का प्रमुख सचेतक युवराज दुलालले प्रधानमन्त्री बालेन शाहले सांसदलाई ‘एक्स्ट्रा अर्डिनरी’, ‘एभरेज’ र ‘बिलो एभरेज’ गरी तीन तहमा वर्गीकरण गरेको प्रसंग उठाउँदै सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने कुन तहमा पर्ने हुन् भनेर प्रश्न गरेका छन्।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा बोल्दै दुलालले प्रधानमन्त्रीले सांसदको स्तर निर्धारण गरेको विषयप्रति प्रश्न उठाएका हुन्। उनले भने, ‘प्रधानमन्त्रीले पहिला तीन मन्त्रीको देश बनाउने टिम सार्वजनिक गर्नुभएको थियो। हामीले पछि बुझ्यौँ त्यो उहाँ ठट्टा/मजाक रहेछ। राणा शासकहरूले आफूलाई ए, बी र सी क्लासमा विभाजन गरेका थिए रे, हिजो प्रधानमन्त्रीले सांसदहरूको स्तर निर्धारण गर्नुभएछ, एक्स्ट्रा अर्डिनरी, एभरेज र बिलो एभरेज। रास्वपामा रहेका इन्जिनियर सांसदहरू ए अर्थात् एक्स्ट्रा अर्डिनरीमा पर्नुभएछ, उहाँहरूलाई बधाई छ।’

प्रधानमन्त्रीले इन्जिनियर सांसदलाई एक्स्ट्रा अर्डिनरीको संज्ञा दिएको प्रसंग उल्लेख गर्दै दुलालले रास्वपा सभापति लामिछाने कुन तहमा पर्छन् भन्ने प्रश्न गरे। उनले भने, ‘महान् दार्शनिक अरस्तुको असल शासकका गुणहरू प्रतिस्थापन भएकै बाँकी नै छन्? प्रधानमन्त्री स्वयम्लाई निर्देशन दिने पार्टी सभापति एभरेजमा पर्नुभयो कि बिलो एभरेजमा? किनभने उहाँ इन्जिनियर होइन। अरू सांसदहरू केमा पर्नुभयो? या यो पनि अर्को ठट्टा हो? जसले हाम्रो प्रधानमन्त्री ठीकठाक हुनुहुन्छ भनेर हामीले बुझौँ।’

प्रकाशित मिति : October 1, 2026 at 5:22 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/