आईपीओ स्वीकृति प्रक्रियामा ‘टाइमलाइन’ तोक्ने तयारी गर्दैछौंः अध्यक्ष भट्ट
१४ असोज, काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. गोपाल प्रसाद भट्टले प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) स्वीकृति प्रक्रियामा ‘टाइमलाइन’ तोक्ने तयारी गरेको बताएका छन् । आईपीओ निष्कासनका लागि बोर्डमा आउने फाइल कुन तहमा कति समय रहने र कुन प्रक्रियाबाट अघि बढ्ने भन्ने स्पष्ट पार्न ‘स्ट्यान्डर्ड अपरेटिङ प्रोसेजर’ (एसओपी) बनाउन लागिएको अध्यक्ष भट्टले बताए ।
बुधबार संघीय संसद्को अर्थ समितिको बैठकमा बाेल्दै अध्यक्ष भट्टले आईपीओ स्वीकृति प्रक्रियामा स्पष्ट कार्यविधि र जिम्मेवारी तोक्न एसओपी आवश्यक रहेको बताए। उनका अनुसार बोर्डमा आईपीओसम्बन्धी फाइल विभिन्न तहमा अध्ययन, समीक्षा र परीक्षणका लागि जाने भएकाले प्रत्येक तहको जिम्मेवारी र फाइल अघि बढाउने समयसीमा स्पष्ट पारिनेछ।
‘स्ट्यान्डर्ड अपरेटिङ प्रोसेजर फर आईपीओ अप्रुभल बनाउँदैछौँ । बोर्डमा विभिन्न तह हुन्छन् । कुन फाइल कुन तहमा पुगेको छ र त्यहाँबाट कसरी अघि बढाउने भन्ने स्पष्ट प्रणाली बनाउँदैछौँ,’ अध्यक्ष भट्टले समितिमा भने।

बोर्डमा आईपीओ स्वीकृतिका लागि पेश भएका कागजात तथा फाइल अहिले विभिन्न तहबाट अध्ययन हुने गर्छन्। कम्पनीको वित्तीय अवस्था, कानुनी पक्ष, प्राविधिक विषय तथा आवश्यक अन्य विवरणको समीक्षा भएपछि मात्र फाइल स्वीकृति प्रक्रियामा अघि बढ्ने व्यवस्था छ।
अब बन्ने एसओपीमा फाइल कुन तहमा पुगेपछि के प्रक्रिया पूरा गर्नुपर्ने, सम्बन्धित तहको जिम्मेवारी के हुने र फाइल कति समयभित्र अर्को चरणमा पठाउने भन्ने विषयलाई व्यवस्थित गर्ने उनले बताए । कानुनी वा अन्य समस्या नभएका फाइल अनावश्यक रूपमा रोकिराख्ने अवस्था अन्त्य गर्न खोजिएको उनले बताए ।
यसले आईपीओ स्वीकृतिको प्रक्रियामा कम्पनीले भोग्दै आएको अनिश्चितता कम गर्ने अपेक्षा रहेको अध्यक्ष भट्टले बताए । यद्यपि स्वीकृतिको निश्चित अवधि तोक्नुअघि कम्पनीले पेश गर्ने कागजात, नियामकीय परीक्षण तथा अन्य निकायबाट आवश्यक पर्ने स्वीकृतिलाई समेत प्रक्रियामा समेट्नुपर्ने उनले बताए ।
प्रकाशित मिति : September 30, 2026 at 2:04 pm




