१४ आश्विन २०८३, बुधबार | Wed Sep 30 2026

सेयर बजारमा चलखेल रोक्न र पारदर्शिता कायम गर्न अर्थ समितिको निर्देशन

१४ असोज, काठमाडौं । सेयर बजारमा देखिएका समस्या समाधान गर्दै पुँजी बजारलाई व्यवस्थित, पारदर्शी र आधुनिक बनाउन प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिले पाँचबुँदे निर्देशन दिएको छ। बुधबार बसेको बैठकले  पूँजी बजारलाई आधुनिक, प्रविधिमैत्री र लगानीकर्ताको हित संरक्षण गर्ने बनाउन नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज र सिडिएस एन्ड क्लियरिङ लिमिटेडको भूमिका र जवाफदेहिता स्पष्ट हुने गरी धितोपत्रसम्बन्धी नयाँ विधेयक सदनमा पेश गर्न अर्थ मन्त्रालयलाई निर्देशन दिएको हो ।

त्यस्तै, बैठकले कम्पनीको प्राथमिक सेयर निष्कासन अनुमति दिनुअघि पूँजी पर्याप्तता, प्रविधि, नेटवर्थ, वासलात र प्रतिफलका आधारमा स्तरीकरण तथा प्रमाणीकरण गर्न र संस्थापक सेयरधनीले धारण गर्नुपर्ने स्वामित्वसम्बन्धी व्यवस्था पुनरावलोकन गर्न धितोपत्र बोर्डलाई निर्देशन दिएको छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) को अनलाइन ट्रेडिङ सिस्टम प्रविधि र डेटा प्रणालीमा बेलाबेला आउने अवरोधले लगानीकर्ता तथा सरकारी राजस्वमा समेत हानि पुगेकाले प्रविधिको स्तरोन्नति र साइबर सुरक्षाको उच्च प्रत्याभूति गर्न अर्थ मन्त्रालय, बोर्ड र नेप्सेलाई निर्देशन दिइएको छ ।  साथै, कारोबार प्रणालीको स्तरोन्नति गर्दै साइबर सुरक्षाको उच्चतम प्रत्याभूति गराउन अर्थ मन्त्रालय, धितोपत्र बोर्ड र नेप्सेलाई सचेत गराइएको छ।

त्यस्तैगरी, दोस्रो बजारमा मिलोमतोमा गरिने किनबेच, आपूर्ति नियन्त्रण, कृत्रिम अभाव वा माग सिर्जना गरी मूल्य बढाउने जस्ता विकृति रोक्न सघन निगरानी राखी संलग्न व्यक्ति वा कम्पनीलाई तत्काल कारबाही गर्न बोर्ड र नेप्सेलाई निर्देशन दिइएको छ । साथै बैठकले नेप्से र सिडिएस एन्ड क्लियरिङ लिमिटेडमा लामो समयदेखि रिक्त रहेको प्रमुख कार्यकारी अधिकृत पदको पदपूर्ति प्रक्रिया तत्काल अगाडि बढाउन अर्थ मन्त्रालयलाई निर्देशन दिएको छ ।

प्रकाशित मिति : September 30, 2026 at 1:33 pm