१२ आश्विन २०८३, सोमबार | Mon Sep 28 2026

सरकारको लाज ढाक्न चोलेन्द्रको छोराको नाममा ल्याप्चेसहितको निवेदन

१२ असोज, काठमाडौँ । पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाको गैरकानुनी गरिफ्तारीका विषयमा अनेक टिप्पणी हुन थालेपछि सरकार समर्थकले घटना मोड्न निवेदन बनाएर असुरक्षाका नाममा पक्राउ गरिएको पुष्टि गर्ने प्रयास गरेका छन ।

प्रथम दृष्टिमै नक्कली देखिने निवेदन सरकारको समर्थनमा विशेष गरी राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताले सञ्जालमा बाँडिरहेका छन । रास्वपाका धेरै नेता कार्यकर्ताले उक्त निवेदन ‘देख्यौँ पक्राउको कारण १’ भन्दै बाँडिरहेका छन । उक्त निवेदन काठमाडौं उपत्यका प्रहरी कार्यालयमा प्राप्त भएको र सोही अनुसार सुरक्षा व्यवस्था समेत मिलाइ सकिएको प्रहरीले जनाएको छ ।

काठमाडौँ उपत्यका प्रहरी कार्यालयका सूचना अधिकरी समेत रहेका प्रवक्ता प्रहरी नायब महानिरीक्षक गोविन्द थपलियाले दैनिकीसँग कुरा गर्दै निवेदन प्राप्त भएको र सोही अनुसारको सुरक्षा प्रदान गरिएको जानकारी दिए । निवेदनको व्यहोरा र तरिका हेर्दा प्रहरीले कार्यालयमा प्राप्त गरेको निवेदन सक्कली नै हो भन्न सक्ने ठाउँ भने देखिदैन ।

हामीले चोलेन्द्रको तर्फबाट निवेदन सक्कली कि नक्कली भनेर छुट्याउनका लागि पटक पटक सम्पर्कको प्रयास गरे पनि फोन उठेन । त्यसपछि हामीले ह्वाट्सएप मार्फत उनको धारणा लिने प्रयास गर्यौँ तर घण्टौँसम्म पनि म्यासेजको रिप्लाइ प्राप्त भएन ।

पूर्व प्रधानन्यायाधीशको गैरकानुनी गरिफ्तारीपछि चौतर्फी बिरोध भयो । प्रहरीले राणाको पक्राउको सूचना बाँड्न उजुरी परेको बतायो । त्यसको केही घण्टापछि प्रहरी अधिकारीहरूले असुरक्षा भएकाले हिरासतमा राखिएको बताए । अझ गम्भीर कुरा त जेन्जीका नाममा थ्रेट भएकाले राणा पक्राउ परेको हास्यास्पद तर्क प्रहरीका उच्च अधिकारीले गरे ।

पक्राउको २४ घण्टा पनि हिरासतमा नराखी प्रहरीले चोलेन्द्रललाई पुनः घरमै लगेर राख्यो । प्रहरीले यतिगर्दा विगतमा प्रधानन्यायाधीश हुँदा चोलेन्द्रमाथि महाअभियोग लगाउने एमालेकै नेताहरूले समेत प्रश्न उठाए । कानुनी क्षेत्र र सञ्चार जगतबाट झन गम्भीर प्रश्नहरू गरिए । त्यसपछि सोमबार कार्यालय समयपछि चोलेन्द्रको परिवारका नाममा सामाजिक सञ्जालमा निवेदन बाँड्न सुरू भएको देखिन्छ ।

प्रहरीले निवेदन प्राप्त भएको बताए पनि उक्त निवेदन चोलेन्द्रकै परिवारबाट लेखिएको सक्कली हो भन्न नसकिने अवस्था छ । हामीले मुख्य गरी पाँच कारणले उक्त निवेदन सक्कली हो भनेर विश्वास गर्न सकेका छैनौँ ।

कारण १

निवेदनमा सम्बोधन गरिएको कार्यालयमा सामान्यतय शान्ति सुरक्षाको माग गर्दै जाने प्रचलन छैन् । जसकारण प्रथम दृष्टिमै यो निवेदन सक्कली हो भनेर भन्न सक्ने अवस्था छैन् ।

कारण २

प्रहरी कार्यालयमा कुनै नेपाली नागरिक शान्ति सुरक्षा माग्न पुगको अवस्थामा प्रहरीले नै जिल्ला प्रशासन कार्यालय जानुस् भनेर अनुरोध गरेर पठाउँछन । त्यसपछि जिल्ला प्रशासन कार्यालयले पत्र लेखिदिएपछि मात्र प्रहरीले काम गर्छ । यो अहिलेको विद्यामान व्यवस्था हो । कानुन अनुसार पनि शान्ति सुरक्षाको व्यवस्था गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीलाई रहेको छ । त्यसकारण यो निवेदन सक्कली नै हो भनेर भन्न सक्ने अवस्था देखिदैन ।

कारण ३

निवेदनको भाषा चोलेन्द्रको नाममा लेखिएको छ । अर्थात म र मेरो परिवारलाई असुरक्षा भयो । त्यसपछि म प्रधानन्यायाधीश हुँदा गरेका फैसलाका कारण म माथि असुरक्षा भएको छ भनेर उल्लेख गरिएको छ । यो भाषा अनुसारको निवेदक चोलेन्द्रशम्शेर हुनुपर्ने हो तर निवेदनमा सचिन्द्रशम्शेर उल्लेख गरिएको छ । त्यसकारण पनि निवेदन पुरै पढ्दा यो निवेदन सम्बन्धित व्यक्तिले नै लेखेका हुन भन्न सक्ने अवस्था देखिदैन ।

कारण ४ 

प्रहरीले यसअघि भने अनुसार चोलेन्द्रशम्शेरलाई टेकुमा रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयमा राखिएको थियो । तर निवेदनमा काठमाडौँ उपत्यका प्रहरी कार्यालयमा आएपछि मलाई धेरै कुरा जानकारी भएको भनेर उल्लेख गरिएको छ । प्रहरीले पक्राउ गरेर टेकु लगेको र टेकुबाट सीधै चोलेन्द्रको घरमा लगेको बताएको छ त्यसकारण यो निवेदन सक्कली नै हो भनेर विश्वास गर्ने ठाउँ देखिदैन ।

कारण ५ 

चोलेन्द्रको छोराले निवेदन लेखेको भए उनले आफ्नै नाममा लेख्ने थिए । र त्यसरी निवेदन देख्दा पहिला सचिन्द्रशम्शेर भनेर उल्लेख गरिएको हुन्थ्यो । अर्को कुरा कुनै पनि उच्चपदस्थका छोराछोरीले अहिलेसम्म म फलानो सम्माननीयको छोरा वा छोरी भनेर निवेदन लेखेको देखिएको छैन । अर्थात सार्वजनिक जानकारीमा छैन । त्यसकारण पनि यो निवेदन सक्कली नै हो भनेर विश्वास गर्ने ठाउँ देखिदैन ।

अब यो निवेदन सक्कली हो वा होइन भन्ने कुरा चोलेन्द्रशम्शेर वा उनको परिवार बोलेपछि मात्र भन्न सकिन्छ । कुनै पनि नागरिक होस वा उच्चपदस्थ उनीहरू असुरक्षित छ भनेर प्रहरी कार्यालयमा लगिदैन । कसैले असुरक्षित महशुष गरेमा सम्बन्धित ठाउँमै सुरक्षा प्रदान गरिन्छ । चोलेन्द्रश पूर्व प्रधानन्यायाधीश भएका कारण उनकोमा पहिल्यै सुरक्षाको व्यवस्था थियो । पहिले नै सुरक्षामा रहेको मानिस कसरी असुरक्षित भयो र प्रहरीले हामीले सुरक्षा दियाैँ भन्दैछ यहाँ पनि प्रश्न रहेको छ ।

प्रकाशित मिति : September 28, 2026 at 3:35 pm