नारायणीमा पानीको सतह अहिलेसम्मकै उच्च
११ असाेज, चितवन । नारायणी नदीमा यस वर्षको बाढीले नयाँ रेकर्ड कायम गरेको छ । देवघाटस्थित जलमापन केन्द्रमा आइतबार दिउँसो नदीको जलसतह ११ दशमलव ९४ मिटर पुगेको हो ।
जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो २ः१० बजे मापन गरिएको उक्त जलसतह देवघाटमा नियमित जलमापन सुरु भएयताकै सबैभन्दा उच्च हो । नारायणी बेसिन फिल्ड कार्यालय भरतपुरले पनि आजको जलसतह हालसम्मकै उच्च भएको जनाएको छ ।
नारायणीमा ७ दशमलव ३० मिटरलाई चेतावनी तह र ९ मिटरलाई खतराको तह निर्धारण गरिएको छ । यस हिसाबले आइतबार नदीको जलसतह खतराको तहभन्दा करिब ३ मिटर माथिसम्म पुगेको थियो ।
पछिल्लो मापनअनुसार दिउँसो ३ः४० बजे जलसतह केही घटेर ११ दशमलव ७५ मिटरमा झरेको छ । तर नदी अझै खतराको तहभन्दा निकै माथि रहेकाले जोखिम कायमै रहेको अधिकारीहरूले बताएका छन् ।

नारायणी बेसिन फिल्ड कार्यालयका प्रमुख हाइड्रोलोजिस्ट इञ्जिनियर सुमित अधिकारीका अनुसार पहाडी क्षेत्रमा वर्षा भइरहेकाले नदीको जलसतहमा पुनः वृद्धि वा अन्य उतारचढाव हुन सक्ने सम्भावना छ ।
यसअघि नारायणीमा सबैभन्दा बढी जलसतह विसं २०८१ असोज १२ गते ११ दशमलव ६ मिटर पुगेको अभिलेख छ । त्यसैगरी विसं २०७८ असार २ गते १० दशमलव ५० मिटर, २०७९ असोज २० गते ९ दशमलव ५२ मिटर र २०८० साउन २९ गते ८ दशमलव ३३ मिटर जलसतह मापन भएको थियो ।
देवघाटमा सन् १९६३ देखि नारायणी नदीको जलसतह मापन हुँदै आएको छ । त्यसयता आज मापन भएको ११ दशमलव ९४ मिटर नै सबैभन्दा उच्च जलसतह भएको कार्यालयले जनाएको छ ।
प्रकाशित मिति : September 27, 2026 at 6:05 pm




