‘गृहमन्त्री–आईजीपीसम्म पुग्छु’ भनेर प्रहरी धम्क्याउने भन्सार अधिकृत भट्ट जिम्मेवारीमुक्त
१० असोज, काठमाडाैँ । कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीका भन्सार अधिकृत चक्रदेव भट्टलाई तत्कालका लागि जिम्मेवारीबाट हटाइएको छ। सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण कैलालीका प्रमुख एसपी खुमबहादुर केसीसँग उत्पन्न विवादबारे सार्वजनिक भएका विवरणमाथि थप छानबिन तथा बुझ्नुपर्ने भन्दै भन्सार विभागले भट्टलाई विभागमा हाजिर हुन निर्देशन दिएको हो।
भन्सार विभागले भट्टलाई त्रिपुरेश्वरस्थित विभागमा हाजिर हुन पत्राचार गरेको जानकारी कार्यवाहक प्रधानमन्त्रीसमेत रहेका अर्थमन्त्री स्वर्णिम वाग्लेका स्वकीय सचिव नवीन ढुंगानाले जानकारी दिएका छन ।
गड्डाचौकी भन्सारबाट जाँचपास भएर कैलालीतर्फ गएको भारतीय नम्बर प्लेटको मालवाहक गाडीलाई अत्तरियामा सशस्त्र प्रहरीले नियन्त्रणमा लिएपछि भट्ट र एसपी केसीबीच विवाद उत्पन्न भएको थियो। उक्त गाडीमा न्यून मूल्यांकन (अन्डर बिलिङ) भएको आशंकामा नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीको भनाइ सार्वजनिक भएको थियो।
गाडी नियन्त्रणमा लिएपछि भन्सार अधिकृत भट्टले एसपी केसीलाई फोन गरेको संवादको अडियोसमेत सार्वजनिक भएको थियो। उक्त संवादमा भट्टले गड्डाचौकी भन्सारबाट प्रक्रिया पूरा गरी राजस्व तिरेर जाँचपास भएको गाडी बाटोमा पुनः नियन्त्रणमा लिइएको भन्दै असन्तुष्टि जनाएका थिए।

उनले अन्डर बिलिङको आशंका भए गाडी गड्डाचौकी भन्सारमै पठाउनुपर्ने भन्दै सशस्त्र प्रहरीको कारबाहीप्रति प्रश्न उठाएका थिए। संवादका क्रममा भट्टले आफूले सम्बन्धित माथिल्लो निकायमा समेत जानकारी गराउने बताएका थिए।
यता एसपी केसीले भने राजस्व चुहावट हुन नदिन शंकास्पद अवस्थामा गाडी नियन्त्रणमा लिइएको दाबी गरेका छन्। गाडीको मूल्यांकन तथा भन्सार प्रक्रियासम्बन्धी विषयलाई लिएर दुई निकायका अधिकारीबीच विवाद चर्किएपछि त्यससम्बन्धी अडियो तथा विवरण सार्वजनिक भएका थिए।
घटनाबारे विभिन्न विवरण सार्वजनिक भएपछि भन्सार विभागले विवादको वास्तविक अवस्था, भन्सार जाँचपासको प्रक्रिया तथा त्यसपछि गाडी नियन्त्रणमा लिइएको विषयमा थप बुझ्न आवश्यक रहेको जनाएको छ।
सोही कारण तत्कालका लागि भट्टलाई गड्डाचौकीको जिम्मेवारीबाट हटाएर विभागमा हाजिर हुन निर्देशन दिइएको हो। विभागमा हाजिर भएपछि घटनाबारे थप अध्ययन तथा आवश्यक प्रक्रिया अघि बढाइने जनाइएको छ।
प्रकाशित मिति : September 26, 2026 at 2:57 pm




