पानीको सतह बढेपछि यी स्थानमा चेतावनी जारी
९ असोज, काठमाडौं । देशका विभिन्न नदीमा पानीको सतह बढेपछि चार स्थानमा बाढीको चेतावनी जारी गरिएको छ । जल तथा ऊर्जा आयोग सचिवालयअन्तर्गत जल तथा मौसम विज्ञानसम्बन्धी बाढी पूर्वानुमान महाशाखाका अनुसार नुवाकोटको त्रिशूली नदीलास्थित धुन्चे, काभ्रेपलाञ्चोकको रोशी खोला, धनकुटाको तमोर नदी र सुनसरीको सप्तकोशी नदीमा पानीको सतह चेतावनी तहभन्दा माथि पुगेको छ ।
शुक्रबार दिउँसो ३ः४० बजेको मापनअनुसार नुवाकोटको त्रिशूली नदीस्थित धुन्चेमा पानीको सतह ३.५१ मिटर पुगेको छ । उक्त स्थानको चेतावनी तह ३.२ मिटर रहेको छ भने पानीको सतह बढ्दो क्रममा रहेको र चेतावनीको अवस्था देखाइएको छ ।

त्यस्तै काभ्रेपलाञ्चोकको पनौतीस्थित रोशी खोलामा पानीको सतह ४.४७ मिटर पुगेको छ । त्यहाँको चेतावनी तह ४ मिटर र खतरा तह ४.५ मिटर रहेको छ । धनकुटाको त्रिवेणीस्थित तमोर नदीमा पानीको सतह ९.०३ मिटर पुगेको छ । उक्त स्थानको चेतावनी तह ९ मिटर रहेको छ । साथै, सुनसरीको चतरास्थित सप्तकोशी नदीमा पानीको सतह ६.२८ मिटर पुगेको छ । त्यहाँको चेतावनी तह ६ मिटर र खतरा तह ७ मिटर रहेको छ ।
प्रकाशित मिति : September 25, 2026 at 4:22 pm




