एसियन गेम्स क्रिकेटमा अफगानिस्तानमाथि नेपालको शानदार जित
९ असोज, काठमाडौं । एसियन गेम्स प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेटमा नेपालले अफगानिस्तानलाई पराजित गरेको छ । जापानको इची–नागोयामा जारी २०औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपालले अफगानिस्तानमाथि ५ विकेटले हराएको हो ।
अफगनिस्तानले दिएको १०३ रनको लक्ष्य नेपालले १७.२ ओभरमा ५ विकेटको क्षतिमा पूरा गर्यो । नेपालका लागि सन्दीप जोराले सर्वाधिक ३४ रन बनाए । रोहित पौडेलले अविजित ३३ तथा दीपेन्द्रसिंह ऐरीले १५ रन बनाए ।

कुशल मल्ल ९ रनमा आउट भए भने गुल्शन झाले अविजित १ रन बनाए। ओपनर कुशल भुर्तेल र आसिफ शेख भने क्रमशः शून्य र २ रनमा आउट भए। यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानलाई नेपालले निर्धारित २० ओभरमा ७ विकेटमा १०२ रनमै रोकेको थियो।
अफगानिस्तानका लागि फेसल शिनोजादाले सर्वाधिक ३३ रन बनाए । नजिबुल्लाह जाद्रानले ३० तथा नङ्गेलिया खरोटेले १७ रन बनाए। नेपालका लागि कुशल भुर्तेलले ४ तथा ललित राजवंशीले ३ विकेट लिए ।नेपाल समूह ‘ए’ मा अफगानिस्तान र जापानसँग रहेको छ । बिहीबार भएको पहिलो खेलमा अफगानिस्तानले जापानलाई हराइसकेको थियो ।
प्रकाशित मिति : September 25, 2026 at 2:18 pm




