९ आश्विन २०८३, शुक्रबार | Fri Sep 25 2026

काठमाडौं उपत्यकाका नदीमा जलसतह बढ्यो, करिडोरबाट यात्रा नगर्न आग्रह

९ असोज, काठमाडौं । काठमाडौं उपत्यकाका खोला तथा नदीमा जलसतह बढ्न थालेपछि ट्राफिक प्रहरीले नदी किनार तथा करिडोर सडकमा आवतजावत नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ।लगातारको वर्षाका कारण उपत्यकाका विभिन्न नदी तथा खोलामा पानीको बहाव बढेपछि सम्भावित जोखिमलाई मध्यनजर गर्दै ट्राफिक प्रहरीले तटीय क्षेत्रमा निगरानी बढाएको हो। प्रहरीले जोखिमयुक्त स्थानमा माइकिङ गर्दै करिडोर सडक प्रयोग नगर्न सर्वसाधारणलाई सचेत गराइरहेको छ।

ललितपुरको च्यासलस्थित पुलसम्म बाढीको पानी पुगेपछि उक्त पुलबाट आवतजावतमा समेत रोक लगाइएको छ। बाढीको बहाव थप बढ्न सक्ने सम्भावनाका कारण च्यासल पुलसहित अन्य जोखिमयुक्त क्षेत्रमा प्रहरी परिचालन गरिएको छ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता नरेशराज सुवेदीका अनुसार नदी तथा खोला किनारका सडकमा पार्किङ गरिएका सवारीसाधन तत्काल हटाउन आग्रह गरिएको छ। पानीको बहाव बढेका स्थानमा सवारीसाधन तथा पैदल यात्रुलाई जोखिम हुनसक्ने भएकाले आवश्यकताबाहेक करिडोर सडक प्रयोग नगर्न प्रहरीले अनुरोध गरेको छ।

यसैबीच, मौसमविद्का अनुसार बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको प्रभावका कारण नेपालका विभिन्न क्षेत्रमा वर्षा भइरहेको छ। उक्त मौसमी प्रणाली पूर्वबाट क्रमशः पश्चिमतर्फ सर्दै गइरहेको छ।

प्रकाशित मिति : September 25, 2026 at 12:53 pm