त्रिपुरेश्वरमा बस आगलागीमा मृत्यु हुने चालकको पहिचान खुल्यो
६ असोज, काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरमा बसमा आगलागी हुँदा जलेर मृत्यु भएका चालकको पहिचान खुलेको छ । बसमा जलेर मृत्यु हुने चालक मकवानपुरको इन्द्रसरोवर गाउँपालिका सिस्नेरीका अर्जुन दोङ तामाङ रहेकाे काठमाडौं प्रहरी परिसरका एसएसपी दिलिप घिमिरेले बताए ।
त्रिपुरेश्वरमा सोमबार भएको घटनामा दावा लामाको नाममा रहेको सवारीचालक अनुमतिपत्र उनले प्रयोग गरेको खुल्न आएको एसएसपी घिमिरेले बताए । प्रहरीका अनुसार २०८२ साल कात्तिकमा बालाजुमा बस पल्टिँदा तीन जना घाइते भएको घटनामा अर्जुन संलग्न रहेको र घटनापछि फरार रहेको खुलेको छ। उक्त घटनाका क्रममा उनले सुनील तामाङको नाममा जारी भएको सवारीचालक अनुमतिपत्र प्रयोग गरेको अनुसन्धानबाट खुलेको छ।

त्यस्तै, करिब तीन महिनाअघि मलपानी क्षेत्रमा ट्राफिक प्रहरीसँग अभद्र व्यवहार गरेको घटनामा पनि उनले दाबा तामाङको नाममा जारी भएको सवारीचालक अनुमतिपत्र प्रयोग गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। त्रिपुरेश्वरमा भएको घटनामा उनले दाबा लामाको नाममा रहेको सवारीचालक अनुमतिपत्र प्रयोग गरेको खुलेको प्रहरीले जनाएको छ। उनले अन्य व्यक्तिको नाममा जारी भएका परिचयपत्र तथा कागजात प्रयोग गरेको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति : September 22, 2026 at 12:28 pm




