५ आश्विन २०८३, सोमबार | Mon Sep 21 2026

रोयल इन्फिल्डको ‘वान राइड’ मा देशभरबाट १५०० भन्दा बढी राइडर सहभागी, डाउन सिन्ड्रोम एसोसिएसनलाई २ लाख सहयोग

५ असोज, काठमाडौं । रोयल इन्फिल्ड नेपालले आयोजना गरेको ‘वान राइड’ मा देशभरबाट १ हजार ५ सयभन्दा बढी राइडर सहभागी भएका छन्। आज नेपालका विभिन्न स्थानमा एकैसाथ आयोजना गरिएको यस राइडमा काठमाडौंमा मात्रै ६ सयभन्दा बढी राइडर सहभागी भएका थिए।

काठमाडौंको राइड कमलादीस्थित प्रज्ञा भवनबाट सुरु भई गोदावरीस्थित बेस्ट वेस्टर्न प्लसमा पुगेर सम्पन्न भएको थियो। देशभरका २२ वटा अधिकृत डिलर लोकेसनबाट राइडरहरू यस कार्यक्रममा सहभागी भएका थिए।

राइडकै अवसरमा रोयल इन्फिल्ड नेपालले डाउन सिन्ड्रोम एसोसिएसन नेपाललाई २ लाख रुपैयाँ सहयोग गरेको छ। उक्त सहयोग रकमको चेक अल्फा अटोमोटिभ प्रालिका निर्देशक मेघराज पौडेलले डाउन सिन्ड्रोम एसोसिएसन नेपालका प्रेसिडेन्ट रमेश तामाङ, भाइस प्रेसिडेन्ट डा. प्रभा मैनाली र आरके सिंहलाई हस्तान्तरण गरे।

चेक हस्तान्तरण गर्दै निर्देशक पौडेलले राइडिङलाई केवल मोटरसाइकल र यात्रासँग मात्र सीमित नराखी सामाजिक उत्तरदायित्व र समुदायसँगको सहकार्यसँग जोड्दै लैजाने बताए। उनले आगामी दिनमा पनि यस्ता सामाजिक तथा सामुदायिक गतिविधिलाई निरन्तरता दिँदै जाने बताए।

यस राइड मार्फत देशका विभिन्न स्थानमा रहेका रोयल इन्फिल्ड राइडर तथा राइडर कम्युनिटीलाई एउटै प्लेटफर्ममा जोड्ने, अनुभव आदानप्रदान गर्ने तथा सुरक्षित र जिम्मेवार राइडिङ संस्कृतिलाई प्रोत्साहन गर्ने उद्देश्य रहेको कम्पनीले जनाएको छ।

रोयल इन्फिल्ड नेपालले आफ्नो राइडर कम्युनिटीलाई मोटरसाइकल र राइडिङमा मात्र सीमित नराखी सामाजिक गतिविधिसँग समेत जोड्दै आएको जनाएको छ। ‘पियोर मोटरसाइक्लिङ’ को अवधारणाअन्तर्गत आयोजना गरिएको यस ‘वान राइड’ ले देशभरका राइडरलाई एकै अभियानमा जोड्नुका साथै समुदायसँगको सम्बन्धलाई समेत थप मजबुत बनाएको छ।

रोयल इन्फिल्डका लागि राइडिङ केवल यात्रा नभई अन्वेषण, अनुभव र समुदायसँग जोडिने माध्यम हो। यही अवधारणालाई अघि बढाउँदै आगामी दिनमा पनि राइडर कम्युनिटी र स्थानीय समुदायसँग सहकार्य गर्ने गतिविधिलाई निरन्तरता दिइने कम्पनीले जनाएको छ।

प्रकाशित मिति : September 21, 2026 at 3:57 pm