दावाले भनेका थिए, ‘गल्ती गरेको छैन मर्न तयार छु तर फाइन तिर्दिन’ (भिडियोसहित)
५ असोज, काठमाडौँ । मुगुका २५ वर्षीय गणेश नेपालीले आत्मदाह गरेको दुई महिना बितेको केही दिनमै त्रिपुरेश्वर चोकमा फेरि त्यस्तै प्रकृतिको आत्मदाहको घटना भएको छ । काभ्रेका २५ वर्षीय दावा लामाले यसरी आत्मदाहको प्रयास गरेका हुन ।
दावाले बिना गल्ती ट्राफिक प्रहरीले चिट काट्न खोजेपछि त्यसको प्रतिवाद गरेका थिए । उनले प्रतिवादको क्रममा भनेका थिए, ‘गल्ती गरेको छैन म मर्न तयार छु तर फाइन तिर्दिन ।’ तर ट्राफिक प्रहरीको सामूहिक ज्यातित कुटपिटको धम्कीकासामू निरीह भएका दावले केहीबेरमा बस स्टपमा बस राखेर आगो लगाएका थिए ।

ट्राफिक प्रहरीसँग विवाद भएपछि उनले आत्मदाहको प्रयास गरेका हुन । दाबा रिद्धिसिद्धि यातायातको बा ५ ख ४२७४ नम्बरको बसका चालक हुन । सोमबार बिहान करिब १०ः३० बजेको समयमा ट्राफिक प्रहरीले बिना कसुर चिट काट्न खोजेको भन्दै उनले त्रिपुरेश्वर चोकमा बस तेर्स्याएका थिए । रत्नपार्कबाट चन्द्रागिरीतर्फ जाँदै गरेको बस त्रिपुरेश्वरको शालिक क्रस हुने क्रममा ट्रफिक प्रहरी रोकेर चिट काट्न खोजेका थिए । त्यसपछि चालक र ट्राफिक प्रहरीको बीचमा विवाद सुरू भएको थियो ।
विवादकै बीच चालकले बसलाई सडकमा तेर्स्याएका थिए । चार जना ट्राफिक प्रहरीले घेरा हालेर चालकसँग वादविवाद गरिरहेको भिडियोमा देख्न सकिन्छ । त्यसपछि उनले रिसले गाडी हुइँक्याएका छन । र बस स्टपमा लगेर बस रोकेका छन । पछि त्यही बसमा उनले आगो लगाएर आत्मदाहको प्रयास गरेका छन । दाबाको अहिले कीर्तिपुरमाको अस्पतालमा उपचार भैरहेको छ । शरीरको ९० प्रतिशत भाग जलेका कारण उनको अवस्था चिन्ताजनक छ ।
मुगुका २५ वर्षीय गणेश नेपाली काठमाडौँ महानगरका प्रहरीसँगको विवादको शिकार भए भने ठीक त्यसको दुई महिनापछि काभ्रेका २५ वर्षीय दावा लामा ट्राफिक प्रहरीसँगको विवादको शिकार बन्न पुगेका छन । यस घटनको निष्पक्ष छानविन गरी दोषी माथि कडा भन्दा कडा कारबाही गर्नुआवश्यक छ ।
प्रकाशित मिति : September 21, 2026 at 4:28 pm




