३ आश्विन २०८३, शनिबार | Sat Sep 19 2026

रुद्रसिंह तामाङ सचिवमा बढुवा

३ असोज, काठमाडौँ । सरकारले सहसचिव रुद्रसिंह तामाङलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले तामाङलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो । यसअघि तामाङ अधिकृत, उपसचिव र सहसचिव तीनै पदमा प्रतिस्पर्धाबाट नियुक्त भएका थिए ।

नुवाकोटको पञ्चकन्या गाउँपालिका स्थायी घर भएका तामाङ गरिब परिवारबाट निजामति प्रशासनमा प्रवेश गरेका अधिकृत हुन । तामाङले जहाँ बसेका त्यहाँ पूर्ण रूपमा काम गरेका छन । तामाङ अध्यागमन विभागमा सुधारको काम गर्दा गर्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगको निशानामा समेत परेका थिए । तर अख्तियारको अभियोग झुटो सावित गर्दै विशेष अदालतले तामाङई पूर्ण सफाइ दिएको थियो ।

जनप्रशासनमा स्नातकोत्तर गरेका तामाङले त्रिभुवन विश्वविद्यालयबाट विद्यावारिधि गर्दैछन । निजामती सेवाको सुरुवाती चरण, उपसचिव र सहसचिव हुँदा उनले स्थानीय तहमा लामो समय काम गरे । तामाङले धादिङ र नुवाकोट जिल्लामा सफल स्थानीय विकास अधिकारी (LDO) को रूपमा काम गरेका थिए ।

२०७२ सालको विनाशकारी महाभूकम्प लगत्तै उत्पन्न जटिल परिस्थितिमा सरकारले उनलाई काठमाडौँ महानगरपालिकाको प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको थियो । जनप्रतिनिधि नभएको अवस्थामा पनि उनले कम्पपछिको आपतकालीन राहत, पुनःनिर्माणको योजना र शहरी व्यवस्थापनमा उनले सक्रिय र सफल भूमिका निर्वाह गरेका थिए ।

तामाङले पर्यटन मन्त्रालय र पर्यटन विभागको महानिर्देशकको रूपमा पनि सफल काम गरे । तामाङ महानिर्देशक भएको समयमा नै होटलको स्तर (तारा) सर्वसाधारणले चिन्ने गरी राख्ने कामको सुरूवात भएको थियो ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा रहँदा प्रादेशिक तथा स्थानीय शासन सहयोग कार्यक्रमको राष्ट्रिय कार्यक्रम निर्देशकका रूपमा स्थानीय र प्रादेशिक सरकारहरूको क्षमता विकासमा नेतृत्वदायी भूमिका खेलेका थिए । त्यसअघि उनले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको प्रमुखको भूमिका समेत निर्वाह गरेका थिए । हाल तामाङ ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा प्रशासन प्रमुखको भूमिकामा रहेका थिए ।

प्रकाशित मिति : September 19, 2026 at 5:36 pm