त्रिशूली–१ को सुरूङमा भेटियो ३५ शव, पहिचानमा सहयोग गर्न प्रहरीको अपिल
३ असोज, नुवाकोट । रसुवाको आमाछोदिङ्मो गाउँपालिका–१ हाकुमा रहेको २१६ मेगावाट क्षमताको त्रिशूली–१ जलविद्युत आयोजनामा भदौ १० गते आएको बाढी छिरेपछि ज्यान गुमाएका ३५ जनाको शव सुरुङबाट निकालिएको छ । शनिबार मात्रै आयोजनाको सुरुङबाट थप ११ जनाको शव भेटिएको छ।
शनिबार आयोजनाको सुरुङमा खोजी गर्ने क्रममा थप ११ जनाको शव भेटिएपछि बाढीमा परी आयोजनाभित्र ज्यान गुमाउनेहरूको संख्या अझ बढेको छ । सुरुङभित्र अझै बेपत्ता व्यक्तिहरू हुन सक्ने भएकाले खोजी तथा उद्धार कार्य जारी रहेको छ।
जिल्ला प्रशासन कार्यालय नुवाकोटले जारी गरेको सूचनाअनुसार भोटेकोशीमा आएको बाढीका कारण आयोजनाको सुरुङभित्र रहेका कामदार तथा अन्य व्यक्तिको ज्यान गएको थियो । बाढीले आयोजनाको सुरुङलगायत संरचनामा क्षति पुर्याएपछि बेपत्ता भएकाहरूको खोजी तथा उद्धारका क्रममा शवहरू भेटिएका हुन्।
यसअघि असोज १ र २ गते गरी २४ वटा शव सुरुङबाट निकालिएको जिल्ला प्रशासन कार्यालयले जनाएको थियो । ती शव नेपाली सेनाको हेलिकप्टरमार्फत असोज ३ गते नुवाकोटको विदुर ल्याइएको छ ।

निकालिएका शवहरू विदुर नगरपालिका–६ स्थित केन्द्रीय कारागार कार्यालय, खम्बाक्याम्प, नुवाकोटको परिसरमा राखिएको प्रशासनले जनाएको छ । मृतकका परिवार तथा आफन्तलाई शवको सनाखत तथा पहिचानका लागि सम्बन्धित स्थानमा सम्पर्क गर्न प्रशासनले आग्रह गरेको छ।
जिल्ला प्रशासन कार्यालयले मृतकका परिवार तथा आफन्तलाई शव पहिचान र सनाखतको कार्यमा सहयोग गरिदिन आग्रह गरेको छ। आवश्यक सहयोग तथा समन्वयका लागि प्रहरी नायब निरीक्षक आशिष साह लाई सम्पर्क गर्नसमेत प्रशासनले अनुरोध गरेको छ।
जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी प्रवक्ता एवं सूचना अधिकारी इकवाल हवारीले जारी गरेको सूचनामा बाढीका कारण आयोजनामा भएको मानवीय क्षतिपछि भेटिएका शवहरूको पहिचान तथा व्यवस्थापनका लागि परिवारजनलाई सहजीकरण गर्न अनुरोध गरिएको छ।

प्रकाशित मिति : September 19, 2026 at 3:06 pm




