३ आश्विन २०८३, शनिबार | Sat Sep 19 2026

‘त्रिशूलीलाई दोस्रो कर्णाली नबना’ भन्दै बाढीपीडितको प्रदर्शन (भिडियोसहित)

३ असोज, नुवाकोट । भोटेकोशीको विनाशकारी बाढीले घर, व्यापार, सम्पत्ति र आफन्त गुमाएको पीडा सेलाउन नपाउँदै त्रिशूली बजारका बाढीपीडित नागरिक आफ्नो दैनिक जीवन झनै कष्टकर बनेपछि सरकारविरुद्ध सडकमा उत्रिएका छन् ।

शनिबार बिहान त्रिशूली बजारमा उनीहरूले हातमा प्लेकार्ड बोकेर प्रदर्शन गरे । प्लेकार्डमा ‘बाढीबाट बचेको सासलाई बचाऊ सरकार’, ‘खबरदार, त्रिशूलीलाई दोस्रो कर्णाली नबना’, ‘विद्यार्थीलाई विद्यालय जाने बाटो देऊ’ लगायतका नारा लेखिएका थिए ।

प्रदर्शनकारीले बोकेको ठूलो ब्यानरमा नेपाल सरकार तथा सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै ‘२४ दिनदेखि पुलविहीन जनता, अब ढिलाइ स्वीकार्य छैन’ लेखिएको थियो। उनीहरूले तत्काल अस्थायी आवतजावतको व्यवस्था गर्न, स्थायी पुल निर्माणको काम सुरु गर्न तथा जनताको समस्या समाधान गर्दै सम्बन्धित निकायलाई जवाफदेही बनाउन माग गरेका हुन ।

भोटेकोशीको बाढीले त्रिशूली बजारमा ठूलो मानवीय क्षति पुर्‍याएको थियो । स्थानीयका अनुसार बजार क्षेत्रबाट मात्रै ८५ जना नागरिक सम्पर्कविहीन छन् । केहीको अवस्था खुले पनि अधिकांशको अझै कुनै टुंगो लागेको छैन । बाढीपछि फेला परेका शवमध्ये पहिचान भइसकेका शवसमेत परिवारले सहज रूपमा पाउन नसकेको भन्दै स्थानीय आक्रोशित छन् ।

त्रिशूली बजारका स्थानीय प्रकाश जोशी त्यसै पीडामध्येका एक हुन् । भोटेकोशीको बाढीमा उनले आफ्ना परिवारका पाँच सदस्य गुमाएका छन् । बाढीले बगाएको उनका छोराको शव चितवनमा पहिचान भइसकेको जानकारी पाए पनि पटक-पटक सम्बन्धित निकायसँग शव बुझाइदिन आग्रह गर्दा समेत अझै परिवारको जिम्मा लगाइएको छैन । आफन्त गुमाउनुको पीडामाथि शवसमेत पर्खिनुपर्ने अवस्थाले आफूहरू थप पीडामा परेको जोशीको गुनासो छ ।

टुइन तर्न तीनदेखि पाँच घण्टासम्म लाइन

बाढीले त्रिशूली नदीमाथिको पुल बगाएपछि नदी वारपार गर्ने नागरिकका लागि अहिले सबैभन्दा ठूलो समस्या आवतजावत बनेको छ । वैकल्पिक रूपमा सञ्चालन गरिएको टुइनबाट नदी पार गर्नसमेत तीनदेखि पाँच घण्टासम्म लाइनमा बस्नुपर्ने अवस्था रहेको स्थानीय बताउँछन् ।

त्रिशूली बजारका बासिन्दाका लागि यो आवतजावतको समस्या मात्र होइन, शिक्षा, स्वास्थ्य, रोजगारी र दैनिक जीवनसँग जोडिएको संकट पनि हो । विद्यार्थी विद्यालय जान, बिरामी उपचारका लागि अस्पताल पुग्न तथा सर्वसाधारणलाई सामान्य कामका लागि समेत नदी वारपार गर्न घण्टौँ कुर्नुपर्ने अवस्था छ ।

त्यसमाथि जिल्ला अस्पताल त्रिशूली नदीको पारिपट्टि रहेकाले स्वास्थ्य उपचारका लागि जाने बिरामी तथा उनीहरूका आफन्त थप समस्यामा परेका छन् । आकस्मिक अवस्थामा बिरामीलाई समयमै अस्पताल पुर्‍याउन नसकिने जोखिमसमेत रहेको छ ।

अरू ठाउँमा पुल बन्दैछन्, त्रिशूलीको कहिले ?

बाढीबाट क्षतिग्रस्त अन्य स्थानमा अस्थायी तथा स्थायी पुल निर्माणको काम अघि बढ्न थाले पनि त्रिशूली बजारमा भने लामो समयसम्म प्रभावकारी वैकल्पिक व्यवस्था हुन नसकेको भन्दै स्थानीयले प्रश्न उठाएका छन् ।

‘बाढीले हाम्रो घरबार र आफन्त लग्यो, अब राज्यको बेवास्ताले बाँचेको जीवन पनि कठिन बनाउँदैछ,’ प्रदर्शनमा सहभागी एक स्थानीयले भने, ‘हामीले मागेको ठूलो कुरा होइन, नदी वारपार गर्ने सुरक्षित बाटो र आफ्ना बालबालिकालाई विद्यालय पठाउने व्यवस्था हो।’

भोटेकोशीको बाढीले दिएको घाउ अझै ताजै छ। आफन्त गुमाएकाहरू शवको पर्खाइमा छन्, घरबार गुमाएकाहरू पुनःस्थापनाको प्रतीक्षामा छन्। त्यसमाथि २४ दिनदेखि पुल नहुँदा दैनिक जीवन अस्तव्यस्त बनेपछि त्रिशूलीका बाढीपीडितको धैर्य टुट्न थालेको छ।

त्यसैले शनिबार उनीहरू राहत माग्न मात्रै होइन, राज्यको ध्यानाकर्षण गराउन प्लेकार्ड बोकेर त्रिशूलीको बगरमा उत्रिए। उनीहरूको एउटै माग छ—तत्काल सुरक्षित आवतजावतको व्यवस्था गर, स्थायी पुल निर्माण सुरु गर र बाढीबाट बाँचेका नागरिकलाई थप पीडामा नपार।

प्रकाशित मिति : September 19, 2026 at 12:33 pm