३ आश्विन २०८३, शनिबार | Sat Sep 19 2026

चीनबाट बाढीपीडितका लागि ६ सैन्य कार्गो विमानमा राहत सामग्री

२ असोज, काठमाडौं । चीन सरकारले नेपालका बाढीपीडितका लागि ६ वटा सैन्य कार्गो विमानमार्फत उद्धार तथा राहत सामग्री उपलब्ध गराएको छ।

विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले चीनबाट प्राप्त सहयोगबारे औपचारिक जानकारी दिँदै ती विमानमार्फत ड्रोन, डीएनए परीक्षण किट, पीसीआर मेसिन, बडी फ्रिजर, टेन्ट तथा भाँडाकुँडालगायतका आवश्यक सामग्री नेपाल आइपुगेको जानकारी दिएका हुन्।

मन्त्री पुनका अनुसार चीन सरकारले नेपाललाई अनुदानस्वरूप दुई लाख अमेरिकी डलर नगद उपलब्ध गराएको छ। त्यस्तै, प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि थप दुई लाख अमेरिकी डलर सहयोग गरेको छ। रेडक्रसमार्फत पनि करिब दुई लाख अमेरिकी डलर बराबरका राहत सामग्री नेपालले प्राप्त गरेको उनले बताए।

विपद् व्यवस्थापनमा सहयोग गर्न चीनबाट ६ जना विपद् राहत विज्ञ र १५ जना फोरेन्सिक विज्ञ नेपाल आएका छन्। फोरेन्सिक विज्ञहरू हाल नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) मा कार्यरत रहेको मन्त्री पुनले जानकारी दिए।

त्रिशूली क्षेत्रमा कठिन तथा जोखिमपूर्ण परिस्थितिमा सञ्चालन गरिएको उद्धार कार्यमा सहयोग पुर्‍याएको चिनियाँ विज्ञ टोलीप्रति मन्त्री पुनले विशेष आभार व्यक्त गरेका छन्।

उनका अनुसार चिनियाँ सरकारबाट प्राप्त कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधि तथा स्याटेलाइट डाटाले विपद् प्रभावित क्षेत्रको अवस्था अनुगमन गर्न महत्वपूर्ण सहयोग पुगेको छ। प्रभावित क्षेत्रको वास्तविक अवस्थाबारे सूचना प्राप्त गर्न यी प्रविधिको प्रयोग प्रभावकारी बनेको उनको भनाइ छ।

मन्त्री पुनले ‘माजु प्रणाली’मार्फत प्राप्त हुने वास्तविक समयको डाटाको प्रभावकारी उपयोग गर्दै नेपाल–चीनबीचको डाटा आदानप्रदानलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका छन्।

बाढी तथा विपद्बाट प्रभावित नागरिकको उद्धार र राहतका लागि चीन सरकारले गरेको सहयोगप्रति नेपाल सरकारका तर्फबाट औपचारिक धन्यवाद व्यक्त गर्दै मन्त्री पुनले चिनियाँ सरकार र नेपाल आएका विज्ञ टोलीप्रति कृतज्ञता व्यक्त गरेका छन्।

प्रकाशित मिति : September 18, 2026 at 6:38 pm