परिवारका पाँच सदस्य गुमाएका प्रकाश भन्छन : म किन बाँचे ?
२ असोज, काठमाडौँ । परिवारका पाँच सदस्य भोटेकोशीको बाढीमा गुमाएका प्रकाश जोशी विक्षिप्त बनेका छन । बाढीले सर्वस्व गुमाउँदा १३ वर्षाका एक छोराको शव भेटिएर पनि नपाउँदा उनी झनै विक्षिप्त भएका छन । सरकारले विभिन्न बहाना गरेर शव दिन समेत नमानेपछि प्रकश निकै तनावमा छन । उनले फेसबुकबाटै म किन बाँचे भनेर आफ्नो पीडा सार्वजनिक गर्न थालेका छन ।

छोराको शव पहिचान भएपछि सरकारले भने अनुसार उनले डिएनए दिएको पनि आज १८ दिन भैसकेको छ । तर पनि प्रकाशले छोराको शव पाउन सकेका छैनन् । शुक्रबार बिहान फेसबुकमा उनले आफ्नो पीडा राख्दै फेरि प्रश्न गरिरहेका छन म किन बाँचे ?
प्रकाशले फेसबुक राखेको टिप्पणी
म किन बाँचेँ ?
कहिलेकाहीँ जीवनले यस्तो प्रश्न अगाडि ल्याइदिन्छ, जसको उत्तर संसारका कुनै किताबसँग हुँदैन।
एउटा सुखी परिवार थियो।
आमा थिइन्—जसको काखमा बाल्यकाल बितेको थियो।
श्रीमती थिइन्—जससँग जीवनका सुख–दुःख बाँड्ने सपना थियो।
दुई साना छोराहरू थिए—जसको भविष्य हेरेर बाँच्ने अनेकौँ सपना थिए। तर एउटा भयावह विपत्तिले केही क्षणमै सबै खोस्यो।
आमा गइन्।
श्रीमती गइन्।
१२–१३ वर्षका निर्दोष दुबै छोराहरु गए।
बाँच्यो त केवल एउटा मानिस।
अब उ सङ्ग बाकी केही छैन।
न त्यो घर नै बाकी छ जसको प्रत्येक भित्ताले उसको सघर्ष को कथा सुनाउन सक्थ्यो अनि न त त्यो छानो नै बाकी छ जहाँ प्रत्येक रात सुत्दा आफ्नो सन्तान र परीवारको लागी सपनाहरु सजाएर सुत्थ्यो अनि न त त्यो आँगन जहाँ उसको छोराहरु बाबा भनेर दौडिरहेको हुन्थ्यो।
“बाबा” भनेर बोलाउने छोराहरु छैन।
श्रीमतीको प्रतीक्षा गर्ने आँखा छैन।
आमाको काख छैन।
बिडम्बना तर पनि ऊ छ।
र उसको मन भित्र दिनरात एउटै प्रश्न घुमिरहेको छ ।
“म किन बाँचेँ ?”
प्रकाशित मिति : September 18, 2026 at 11:22 am




