५० रुपैयाँको नयाँ नोट बजारमा
२ असोज, काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (असोज २ गते)देखि ५० रुपैयाँ दरको नयाँ बैंकनोट चलनचल्तीमा ल्याएको छ । राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागका अनुसार साविककै आकार तथा रङमा नयाँ ५० रुपैयाँ दरको नोट चलनचल्तीमा ल्याइएको हो ।
नयाँ नोटमा नेपाल राष्ट्र बैंकका गभर्नर प्राडा विश्वनाथ पौडेलको हस्ताक्षर रहेको छ। नोटको अग्रभागमा सगरमाथा हिमालको चित्र राखिएको छ भने दायाँतर्फ लालीगुराँसको पानीछाप र त्यसको मुनि ‘५०’ अङ्कको पानीछाप समावेश गरिएको छ । नोटको मध्य भागमा अंग्रेजी अक्षरमा लेखिएको ‘नेपाल राष्ट्र बैंक’ र नेपाल सरकारको जमानत प्राप्त भएको विवरण राखिएको छ। नोटको तल्लो भागमा सिरिज नम्बर ‘वि.सं. २०८३’ उल्लेख छ।

नयाँ नोटमा १.२ मिलिमिटर चौडा कागजमा बुनिएको सुरक्षण धागो राखिएको छ । नोटलाई सीधा हेर्दा सुरक्षा धागो रातो देखिने र ढल्काएर हेर्दा हरियो देखिने राष्ट्र बैंकले जनाएको छ। सुरक्षा धागोमा ‘NRB’ अक्षरसमेत उल्लेख गरिएको छ।
प्रकाशित मिति : September 18, 2026 at 10:49 am




