१ कार्तिक २०८३, शनिबार | Sun Oct 18 2026

९ लाख घुससहित पक्राउ परे नापी अधिकृत वली

१ असोज, काठमाडौँ । नापी कार्यालय डिल्लीबजारअन्तर्गत ३ नम्बर नापी टोली, माछापोखरीका टोली प्रमुख नापी अधिकृत डिल्लीबहादुर वली ९ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वलीलाई घुसबापत लिइसकेको ९ लाख रुपैयाँसहित टोखा नगरपालिका–५ स्थित वसुन्धरा चोकको एक रेस्टुरेन्टबाट भदौ ३१ गते पक्राउ गरेको जनाएको छ।

आयोगका अनुसार छुट जग्गा दर्तासम्बन्धी सिफारिससहितको मिसिल पत्र भूमि प्रशासन कार्यालय, मनमैजुमा पठाउने काममा सेवाग्राहीलाई अनावश्यक दुःख, हैरानी र सास्ती दिँदै वलीले घुस रकम माग गरेका थिए।

यस विषयमा प्राप्त सूचना तथा उजुरीका आधारमा अख्तियारको टंगालस्थित कार्यालयबाट खटिएको टोलीले वलीलाई नियन्त्रणमा लिएको हो। वलीविरुद्ध घुस/रिसवत लिएको आरोपमा भ्रष्टाचारसम्बन्धी मुद्दामा अनुसन्धान अघि बढाइएको छ। आयोगका अनुसार विशेष अदालतको आदेशबाट आज म्याद थप भई उनीमाथि थप अनुसन्धान भइरहेको छ।

प्रकाशित मिति : September 17, 2026 at 5:12 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/