ग्यास उद्योग संघले उद्योगीलाई भन्योः प्रतिसिलिन्डर दुई हजार ६० रुपैयाँभन्दा बढी नलिनू
१ असाेज, काठमाडाैं । नेपाल एलपी ग्यास उद्योग संघले काठमाडौँ उपत्यकामा बजारीकरण गर्ने सम्पूर्ण ग्यास उद्योगहरूलाई निगमले तोकेको साविककै मूल्य प्रतिसिलिण्डर २ हजार ६० रुपैयाँमा नबढाई ग्यास बिक्री वितरण गर्न अनुरोध गरेको छ। संघले एक प्रेस विज्ञप्ति जारी गर्दै २०८३ असोज २ गते शुक्रबारदेखि लागू हुने गरी उक्त मूल्यमा ग्यास बिक्री वितरण गर्न र आफ्ना बिक्रेताहरूलाई सोही अनुसार जानकारी गराउन आग्रह गरेको हो।
‘काठमाडाैं उपत्यकामा एलपी ग्यास बजारीकरण गर्नु हुने सबै ग्यास उद्योगीहरुलाई मिति २०८३/६/२ गते शुक्रबारदेखि लागू हुनेगरी निगमले तोकेको प्रति सिलिन्डर रु २,०६० (अक्षरेपी दुई हजार साठी रुपैयाँमात्र)मा नबढाई ग्यास बिक्री वितरण गर्नु हुन र आ–आफ्ना बिक्रेताहरूलाई जानकारी गराउनु हुन अनुरोध गर्दछ’ विज्ञप्तिमा भनिएको छ।

यसअघि भदौ १४ गते कृष्णभीर क्षेत्रमा त्रिशूलीको बाढीका कारण पहिरो गएर सडक अवरुद्ध हुन पुगेकोपछि उद्योगीहरुले मकवानपुर, पर्सा, बारा, चितवन, नवलपरासी र धनुषामा रहेका ग्यास उद्योगहरुमा सिलिण्डर रिफिल गरी ट्रकहरुमार्फत वैकल्पिक मार्गबाट ल्याई काठमाडौँ उपत्यकामा ग्यास बिक्री वितरण गर्दै आइरहेका थिए।
त्यसक्रममा संघले भदौ १८ गते प्रेस विज्ञप्ति जारी गरी काठमाडौँ उपत्यकामा निगमले तोकेको प्रति सिलिण्डर दुई हजार ६० रुपैयाँमा १०५ रुपैयाँ ३८ पैसा ढुवानी भाडा थप गरी २,१६५ रुपैयाँ ३८ पैसामा ग्यास बिक्री वितरण गर्न अनुरोध गरेको थियो।
अहिले अवरुद्ध सडक खण्डमा वैकल्पिक ट्र्याक खोली यातायात सहज रूपमा सञ्चालन भएसँगै एलपी ग्यास बुलेटहरू काठमाडौँ आउन थालेका छन्। ग्यास उद्योगहरूलाई अब वैकल्पिक मार्गबाट ग्यास ल्याउनुपर्ने बाध्यता हटेकाले ढुवानी भाडाबापत थप गरिएको रकम हटाई साविककै मूल्य कायम गर्न नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष दिवान चन्दद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।

प्रकाशित मिति : September 17, 2026 at 4:40 pm



