३१ भदौ २०८३, बुधबार | Wed Sep 16 2026

सेयर लगानीकर्तालाई राहतः पूँजीगत लाभकर घटाउने प्रस्ताव मन्त्रिपरिषद् बैठकबाट पारित

३१ भदाै, काठमाडाैं । सरकारले सेयर बजारको नाफामा लाग्ने पूँजीगत लाभकर प्रस्ताव औपचारिक रूपमा पारित गरेको छ। बुधबार बसेकाे मन्त्री परिषद् बैठकले अर्थमन्त्री स्वर्णीम वाग्लेले अघि सारेकाे पुँजीगत लाभकर घटाउने प्रस्ताव पारित गरेकाे हाे ।

मन्त्रिपरिषद्को बैठकका निर्णयहरू सार्वजनिक गर्दै सरकारका प्रवक्ता सस्मित पोखरेलले धितोपत्र बोर्डमा सूचीकृत कम्पनीहरूको सेयर बिक्रीबाट हुने लाभमा लाग्ने करको दर हेरफेर गरिएको जानकारी दिए । अर्थ मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले गरेको निर्णयअनुसार प्राकृतिक व्यक्ति (व्यक्तिगत लगानीकर्ता) का लागि करको दर परिमार्जन गरिएको छ । यसअघि ३६५ दिनभन्दा बढी स्वामित्वमा रहेको सेयर बिक्री गर्दा हुने नाफामा ७.५ प्रतिशत पुँजीगत लाभकर लाग्दै आएकोमा त्यसलाई घटाएर ३.५ प्रतिशत कायम गरिएको छ ।

यस्तै, यसअघि ३६५ दिन वा सोभन्दा कम अवधि स्वामित्वमा रहेको सेयर बिक्री गर्दा हुने नाफामा १० प्रतिशत लाभकर लाग्दै आएकोमा त्यसलाई घटाएर ५ प्रतिशतमा झारिएको छ । यो व्यवस्था नेपाल धितोपत्र बोर्डमा सूचीकृत भई धितोपत्र विनिमय बजारमार्फत कारोबार गर्ने प्राकृतिक व्यक्तिको हकमा मात्र लागू हुनेछ । नयाँ व्यवस्था लागू हुन भने राजपत्रमा करको संशोधित दर प्रकाशित हुनुपर्नेछ। राजपत्रमा सूचना प्रकाशित भएपछि घटाइएको करदर औपचारिक रूपमा कार्यान्वयनमा आउनेछ।

प्रकाशित मिति : September 16, 2026 at 5:57 pm