प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको नाम फेर्न सांसद खरेलको माग
३० भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद जगदीश खरेलले प्रधानमन्त्री दैवी प्रकोप कोषको नाम परिवर्तन गर्न माग गरेका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले प्रधानमन्त्री दैवी प्रकोप कोषको नाम परिवर्तन गरेर प्रधानमन्त्री विपद् राहत कोष भनेर कायम गर्न माग गरेका हुन् ।
सांसद खरेलले बाढी, पहिरो र कटानजस्ता घटनालाई दैवी प्रकोप भन्नु गलत भएको जिकिर गरे। ‘हामी भोटेकोशी बाढीको पीडामा छौं । र यो विपद्को सामना गरिरहेका छौं । यो भोटेकोशी बाढी दैवी प्रकोप होइन भन्ने कुरामा हामी स्पष्ट छौं,’ सांसद खरेलले भनेका छन्, ‘यो बाढीमात्रै होइन, कुनै पनि बाढी, पहिरो डुबान, कटान, भुइँचालो, आगलागी कुनै पनि दैवी प्रकोप होइनन् । कि यी मानव सिर्जित हुन्, कि यी प्राकृतिक विपद् हुन् ।’

यसअघि गएका र भविष्यमा आउन सक्ने यस्ता विपत्तिलाई दैवी प्रकोप को संज्ञा दिँदा जिम्मेवारीबाट पन्छिने प्रवृत्ति देखिएको उनको भनाइ छ।खरेलले भने, ‘यी घटनाहरू या त प्राविधिक कमजोरी, या त वातावरण विनाश, वा अव्यवस्थित विकास निर्माणका कारण हुने गरेका छन्। त्यसैले यस्ता घटनालाई दैवी प्रकोप नभई प्राकृतिक विपत्ति मान्नुपर्छ र सोहीअनुसार राज्यले राहत तथा व्यवस्थापनको तयारी गर्नुपर्छ।’
प्रकाशित मिति : September 15, 2026 at 2:41 pm


