प्रधानमन्त्री राहत कोषमा १३ अर्ब ६८ करोड रुपैयाँभन्दा बढी मौज्दात
३० भदाै, काठमाडाैं । रसुवाको भोटेकोशी नदीमा गत भदौ १० गते आएको बाढीपछि राहत तथा उद्धारका लागि परिचालन गरिएको प्रधानमन्त्री राहत कोषमा १३ अर्ब ६८ करोड ७३ लाख ५४ हजार ६०६ रुपैयाँ मौज्दात रहेको छ। कोषमा रहेको कुल रकममध्ये नौ वटा वाणिज्य बैंकका खातामा १० अर्ब ८ करोड ४३ लाख ८ हजार ५१७ रुपैयाँ मौज्दात रहेको छ। यस्तै, दुई वटा वाणिज्य बैंकमा २ करोड ३६ लाख १२ हजार ५९६ अमेरिकी डलर मौज्दात रहेको जनाइएको छ।

भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा राहत तथा उद्धारका लागि प्रधानमन्त्री राहत कोषबाट १ अर्ब रुपैयाँ राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा निकासा भइसकेको छ। यसबैबीच प्रधानमन्त्री वालेन्द्र शाहले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रसुवाको भोटेकोशी बाढीपछि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएका विभिन्न स्थानीय तहका जनप्रतिनिधिसँग छलफल गरेका छन् ।
छलफलका क्रममा बाढीबाट प्रभावित क्षेत्रमा राहत, उद्धार तथा पुनर्स्थापनाका लागि आवश्यक स्रोत परिचालन र आगामी कार्ययोजनाबारे छलफल भएको जनाइएको छ। भोटेकोशी बाढीपछि रसुवाका विभिन्न क्षेत्रमा जनधन तथा भौतिक संरचनामा ठूलो क्षति पुगेको छ।
प्रकाशित मिति : September 15, 2026 at 9:16 am


