शवबाट सुन चोरेको आरोपमा नुवाकोटका पाँच जना पक्राउ, छुटाउन राजनीतिक दबाब
२८ भदौ, नुवाकोट । नुवाकोटको विदुर नगरपालिका–३ सिर्खालीमा बाढीका कारण मृत्यु भएकी महिलाको शवबाट सुन चोरी गरेको आरोपमा पाँच जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय नुवाकोटले भदौ २४ गते सिर्खालीबाटै पाँच जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरू सबै विदुर नगरपालिका–३ का स्थानीय रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) एक्वाल हवारीले दैनिकीलाई जानकारी दिए । पक्राउ पर्नेमा दिपेश भुजेल, सुरेश रिमाल, दिनेश पण्डित, निराजन थापामगर र राजेश रिमाल रहेका छन् ।
प्रहरीका अनुसार उनीहरूमाथि महिलाको शवबाट सुनका गहना चोरी गरेको आरोपमा अनुसन्धान भइरहेको छ । पक्राउ परेका पाँचै जनालाई पहिलोपटक जिल्ला अदालत नुवाकोटबाट पाँच दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको थियो । उनीहरूलाई दोस्रोपटक म्याद थपका लागि सोमबार जिल्ला अदालत नुवाकोटमा उपस्थित गराउने प्रहरीको तयारी छ ।

प्रहरी स्रोतका अनुसार पक्राउ परेकाहरूलाई छुटाउन नेपाली कांग्रेस र नेकपा एमालेका केही स्थानीय नेताबाट प्रशासन तथा प्रहरीमाथि दबाब आएको बुझिएको छ । यद्यपि प्रहरीले अनुसन्धान र कानुनी कारबाहीमा बाह्य दबाबले असर नपर्ने बताएको छ । पक्राउ परेका केही ती दलका नेताहरूको परिवारको सदस्य रहेको बुझिएको छ ।
यसअघि पनि शवबाट सुन निकाल्ने दुई जना पक्राउ
भोटेकोशी बाढीपछि मृतकका शवबाट गहना चोरी भएको यो पहिलो घटना भने होइन । यसअघि पनि बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा निकाल्दै गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो ।
भदौ ११ गते चितवनको भरतपुर महानगरपालिका–१ पोखरा बसपार्क क्षेत्रबाट मदन गुरुङ र उमेश चौधरीलाई शवबाट सुनको मुन्द्रा चोरी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको थियो । नदी किनारमा अड्किएको शवबाट कानको मुन्द्रा निकाल्दै गरेको भिडियो सार्वजनिक भएपछि त्यसकै आधारमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको थियो ।
भोटेकोशी बाढीपछि मृतकको शवबाट गहना निकालिएको भिडियो सार्वजनिक हुँदा घटनाको व्यापक आलोचना भएको थियो । शवको सम्मान र विपद्का बेला मानवीय संवेदनामाथि प्रश्न उठेको भन्दै प्रहरीले यस्ता गतिविधिमाथि निगरानी बढाएको जनाएको थियो ।
यसैबीच, बाढीपछि नुवाकोटमा ठूलो संख्यामा बेवारिसे तथा पहिचान नखुलेका शव फेला परेका छन् । नेपाल प्रहरीको अभिलेखमा विदुर नगरपालिका–३ बाट समेत भोटेकोशी बाढीमा परी मृत्यु भएकी महिलाको पहिचान नखुलेको शव फेला परेको विवरण छ ।
मृतकको शवबाट गहना चोरीका घटना दोहोरिन थालेपछि विपद्का बेला शवको सुरक्षा, व्यवस्थापन तथा उद्धारमा खटिएका जनशक्तिको निगरानीको विषयसमेत गम्भीर बनेको छ ।
प्रकाशित मिति : September 13, 2026 at 4:46 pm


