रसुवा बाढीपीडितका लागि थकाली कल्याण समाज यूकेले जुटायो साढे १७ लाख
२७ भदौ, काठमाडौं । थकाली कल्याण समाज यूकेले रसुवाका बाढीपीडितहरूको राहत तथा सहयोगका लागि १७ लाख ५७ हजार ३४५ रुपैयाँ संकलन गरेको छ।
समाजले संकलन गरेको रकममध्ये १० लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको छ। उक्त रकम माननीय मन्त्री महावीर पुनमार्फत कोषमा हस्तान्तरण गरिएको समाजले जनाएको छ।
त्यस्तै, बाँकी ७ लाख ५७ हजार ३४५ रुपैयाँ थकाली कल्याण समाजको केन्द्रीय समिति, काठमाडौंमार्फत रसुवाका बाढीपीडितको राहत तथा सहयोगका लागि हस्तान्तरण गरिएको छ।

राहत रकम हस्तान्तरण कार्यक्रममा थकाली कल्याण समाज यूकेका उपाध्यक्ष केशर शेरचन, सल्लाहकार टंका तुलाचन तथा सदस्य नगेन्द्र गौचनको उपस्थिति रहेको थियो।
रसुवामा भोटेकोशीसहितका नदीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि स्वदेश तथा विदेशमा रहेका विभिन्न संघसंस्था तथा नेपाली समुदायले राहत तथा पुनःस्थापनाका लागि सहयोग जुटाउँदै आएका छन्।
थकाली कल्याण समाज यूकेले राहत अभियानमा सहयोग गर्ने सम्पूर्ण दाताहरूप्रति आभार व्यक्त गर्दै संकलित सहयोगले बाढीबाट प्रभावित परिवारलाई राहत पुर्याउन महत्वपूर्ण योगदान गर्ने जनाएको छ।
प्रकाशित मिति : September 12, 2026 at 10:38 pm


