पैसा नभएपछि राजविराजको सरकारी अस्पतालमा भएन उपचार, गेटमै गर्भवतीले जन्माइन् बच्चा
२५ भदौ, काठमाडौं । राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालले भर्ना नलिएपछि स्थानीय एक महिलाले फुटपाथमै बच्चा जन्माएको घटना सार्वजनिक भएको छ । सुत्केरी व्यथा लागेपछि ती महिला अस्पताल गएकी थिइन् । तर पैसा नभएका कारण अस्पतालले भर्ना लिन नमानेको र बाध्य भएर सडक पेटीमै बच्चा जन्माएको पीडित पक्षले जनाएको छ ।
सप्तरीको राजविराज नगरपालिका-१४ पर्साहीकी बबिता पासवान बुधबार राति प्रसूति व्यथा लागेपछि श्रीमानसहित अस्पताल पुगेकी थिइन्। अस्पतालले अल्ट्रासाउन्ड, रगत तथा पिसाब परीक्षणका लागि करिब ३ हजार ४ सय रुपैयाँ लाग्ने बताएपछि आफूहरूसँग पैसा नभएको पीडितको भनाइ छ।

जाँचबिना प्रसूति गराउन नमिल्ने भन्दै स्वास्थ्यकर्मीले बाहिर पठाएपछि उनी अस्पताल नजिकैको औषधि पसल अगाडि बस्न बाध्य भएकी थिइन्। केहीबेरमै प्रसव व्यथा बढेपछि उनले बुधबार बिहान करिब ४ बजेतिर फुटपाथमै बच्चा जन्माइन् ।
बच्चा जन्मिएपछि पनि अस्पतालमा भर्ना नलिएको र स्वास्थ्यकर्मीले दुर्व्यवहार गरेको पीडितको आरोप छ। घटनाको भिडियो सार्वजनिक भएपछि सरकारी अस्पतालको सेवा र विपन्न नागरिकका लागि निःशुल्क स्वास्थ्य सेवाको व्यवस्थामाथि प्रश्न उठेको छ।
सरकारी तथा निजी अस्पतालमा विपन्न तथा गरिब नागरिकका लागि १० प्रतिशत बेड छुट्याउनुपर्ने कानुनी व्यवस्था हुँदाहुँदै अस्पतालकै अगाडि एउटी महिलाले फुटपाथमा बच्चा जन्माउनुपर्ने घटनाले स्वास्थ्य सेवाको पहुँच र व्यवस्थापनमाथि गम्भीर प्रश्न उठाएको छ।
प्रकाशित मिति : September 10, 2026 at 1:39 pm


