२४ भदौ २०८३, बुधबार | Wed Sep 9 2026

२४ भदौ नेपालको लोकतान्त्रिक इतिहासको कालो दिनः प्रचण्ड

२४ भदाै, काठमाडाैं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा भ्रष्टाचार अन्त्य भई सुशासन स्थापित हुने आस गरेका नागरिक फेरि निराश भएको बताएका छन्। जेनजी आन्दोलन सुरु भएको एक वर्ष पूरा भएको अवसरमा संयोजक प्रचण्डले बुधबार विज्ञप्ती जारी गर्दै गत वर्ष जेनजीले जुन माग लिएर प्रदर्शन गरेका थिए त्यो अझै पूरा नभएको बताएका हुन्।

‘भ्रष्टाचार अन्त्य हुन्छ, सुशासन स्थापित हुन्छ, रोजगारी र अवसर बढ्छन् तथा राज्य जनताप्रति उत्तरदायी हुन्छ भन्ने अपेक्षा गरेका नागरिकहरू आज फेरि निराश छन्,’ उनले भनेका छन्। प्रचण्डले जेनजी आन्दोलन सुरुमा अभिव्यक्ति स्वतन्त्रता, सुशासन, भ्रष्टाचारविरुद्धको खबरदारी र नयाँ पुस्ताको भविष्यप्रतिको चिन्ताबाट उत्पन्न सामाजिक सञ्जाल प्रेरित आन्दोलन भएको बताएका छन्। तर युवाको आवाजलाई संवेदनशील रूपमा सम्बोधन गर्नुको सट्टा राज्यले दमनको बाटो रोजेको उनको आरोप छ।

 त्यसपछि नियोजित रूपमा परिचालित संदिग्ध तत्वहरूले आन्दोलनलाई ‘अपहरण’ गरेको प्रचण्डको दाबी छ। उनका अनुसार भदौ २४ गते सिंहदरबार, संसद् भवन, राष्ट्रपति भवन, सर्वोच्च अदालत, राष्ट्रिय अभिलेखालय, सरकारी तथा प्रहरी कार्यालय, राजनीतिक दलका कार्यालयलगायत सार्वजनिक तथा निजी सम्पत्तिमा लुटपाट, आगजनी र विध्वंस भएको थियो। उनले आन्दोलन उग्र र हिंसात्मक बन्न थालेपछि वास्तविक जेनजी अभियन्ताहरूले नै ‘घुसपैठ भयो’ र ‘घर फर्कौं’ भनेको तथ्य महत्वपूर्ण रहेको उल्लेख गरेका छन्।

संयोजक प्रचण्डले युवाको जायज असन्तुष्टि र त्यसलाई हिंसा, लुटपाट तथा विध्वंशमा परिणत गर्ने नियोजित कार्य एउटै विषय नभएको बताएका छन्। ‘दुईलाई एउटै दृष्टिले हेर्नु इतिहास र सत्य दुवैमाथि न्याय हुँदैन । वस्तुतः प्रतिक्रान्तिकारी विध्वंसले भाद्र २४ गतेलाई नेपालको लोकतान्त्रिक आन्दोलनको इतिहासमा एउटा कालो दिनकारुपमा स्थापित गरेको छ । नेपाली जनताको आत्म निर्णयको अधिकार, राष्ट्रिय स्वाधिनता र नेपाली इतिहासका गौरव र धरोहर माथिको विध्वंसले समेत यसलाई कालो दिन नै बनाएको छ,’ उनले भनेका छन्।

dainiki.com

नेकपाले सामाजिक सञ्जालमाथिको प्रतिबन्धदेखि नै अभिव्यक्ति स्वतन्त्रता र जनताको लोकतान्त्रिक अधिकारको पक्षमा स्पष्ट धारणा राख्दै आएको पनि प्रचण्डले बताएका छन्। त्यतिबेला नेकपा नेतृत्वको सरकारले सुशासन, सामाजिक न्याय र समृद्धिको अभियान अघि बढाइरहेको र त्यहीकारण हठात् सरकारबाट हटाइएको उनले बताए।

‘हामी न गोली चलाउने पक्षका थियौँ, न सिंहदरबार जलाउने । त्यसैले जेन-जी विद्रोहका नाममा हाम्रो पार्टी, नेतृत्व र राजनीतिक शक्तिमाथि गरिएको आक्रमणलाई सामान्य राजनीतिक घटनाका रूपमा स्वीकार गर्न सकिदैन,’ उनले भनेका छन्।

भदौ २४ को घटनाको दोषी को हो भन्ने स्थापित गर्न निष्पक्ष, स्वतन्त्र र तथ्यमा आधारित छानबिन आवश्यक रहेको प्रचण्डले बताएका छन्। ‘को दोषी थियो ? आन्दोलनमाथि दमन किन र कसरी भयो ? कसले आन्दोलन भड्कायो ? कसले हिंसा, लुटपाट र विध्वंश मच्चायो ? त्यसबाट लाभ कसले उठायो ? र, यसले नेपालको लोकतान्त्रिक प्रक्रियामा कस्तो प्रभाव पार्यो ? यी सबै प्रश्नको सत्यतथ्य उजागर गर्नुपर्छ । दोषी जोसुकै होस्, जुनसुकै राजनीतिक पहुँच वा शक्तिमा होस्, कानुनको दायरामा ल्याइनुपर्छ,’ उनले भनेका छन्।

प्रधानमन्त्रीले राजीनामा दिइसकेपछि पनि लुटपाट, तोडफोड र आगजनी जारी रहनु, संगठित समूह परिचालन भएको देखिनु तथा प्रज्वलनशील पदार्थ प्रयोगलगायतका घटनाले घटनाको पछाडि गम्भीर प्रश्न रहेको उनले बताएका छन्। उनले राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन कार्यान्वयन गर्न पनि माग गरेका छन्। आयोगले जेन–जी आन्दोलनका क्रममा भएको दमन, हिंसा तथा तोडफोडबारे अध्ययन गरी विभिन्न पक्षमाथि अनुसन्धान तथा कारबाही आवश्यक रहेको औँल्याएको उल्लेख गर्दै प्रचण्डले प्रतिवेदन ‘दराजमा थन्क्याउने विषय नभई कार्यान्वयन गर्ने दस्तावेज’ भएको बताएका छन्।

उनले महँगी बढेको, अर्थतन्त्र शिथिल रहेको, व्यवसायी निराश भएको, रोजगारीका अवसर पर्याप्त नभएको तथा युवाको विदेश पलायन बढिरहेको बताएका छन्। सार्वजनिक ऋण र करको बोझ बढेको तथा विपद्का समयमा समेत नागरिकले समयमै उद्धार, राहत र पुनःस्थापना पाउन नसकेको उनको आरोप छ।

प्रकाशित मिति : September 9, 2026 at 10:13 am