२४ भदौ २०८३, बुधबार | Wed Sep 9 2026

परिवारका पाँच सदस्य गुमाएका निराजन भन्छन : राज्यको उपस्थिति नदेख्दा झनै रित्तो महसुस हुँदो रहेछ

२४ भदौ, नुवाकोट । भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीले पत्रकार निराजन पौडेलको जीवनबाट एकैपटक उनका आमाबुवा, अंकल–अण्टी र प्यारी बहिनी खोस्यो। घर गयो, सम्पत्ति गयो, बाल्यकालका सम्झना बोकेको थलो गयो । बाँकी रह्यो त ढुंगा र बालुवाले भरिएको एउटा बगर अनि आफन्त गुमाएको असह्य पीडा ।

सात दिनसम्म उनी आफ्ना हराएका आफन्त फर्किएर आउने झिनो आशामा बसे । आँखाहरू बाटो हेर्दाहेर्दै थाके। तर, त्यो आशा अन्ततः निराशामा बदलियो। आफ्ना प्रियजनहरू कहिल्यै नफर्किने यथार्थ स्वीकार्दै उनले रित्तो हात काजकिरिया गर्नुपर्‍यो।

काजकिरिया सकिएपछि सामाजिक सञ्जालमा आफ्नो मनको पीडा पोख्दै पौडेलले लेखेका छन्,  ‘अभिभावकविहीन भएको महसुस त भएकै थियो, तर राज्यको उपस्थिति नदेख्दा झनै रित्तो महसुस हुँदो रहेछ।’

यो एउटा बाढीपीडितको गुनासो मात्रै होइन, विपत्तिमा सर्वस्व गुमाएको नागरिकले राज्यबाट खोजेको अभिभावकीय भरोसामाथिको गम्भीर प्रश्न हो ।

भोटेकोशीको उन्मत्त भेलले निमेषभरमै आफ्नो संसार उजाडिदिएको पौडेलले बताएका छन् ।

‘भदौ १० गते मेरो जीवनको त्यो कालरात्री, जसले मेरो खुसी, मेरो ओत र मेरो सर्वस्व लुटेर लग्यो,’ उनले लेखेका छन्, ‘भोटेकोशीमा आएको त्यो उन्मत्त बाढीले निमेषभरमै मेरो संसार उजाडिदियो।’

हिजोसम्म उनको बाल्यकाल हाँसेको ठाउँ आज ढुंगा र बालुवाको बगरमा परिणत भएको छ । जहाँ आमाको ममता थियो, बुवाको छहारी थियो, त्यही ठाउँ अहिले आफ्ना प्रियजनको सम्झना बोकेको भग्नभूमि बनेको छ ।

बाढीले घर मात्रै बगाएन, पौडेलको भनाइमा उनको ‘अस्तित्व र भविष्यका सपनाहरू’ समेत पुरिदियो।

आमाबुवा, अंकल–अण्टी र बहिनीलाई गुमाएपछि उनी सात दिनसम्म उनीहरू जीवितै फर्किएर आउने आशामा बसेका थिए । तर, विपत्तिले उनको त्यो आशासमेत खोस्यो ।

‘सात दिनसम्म हराएका आफन्त फर्केर आउने झिनो आशामा आँखाहरू थाके,’ उनले लेखेका छन्, ‘अन्त्यमा रित्तो हात काजकिरिया गर्नुको विकल्प रहेन।’

काजकिरिया सकिएको छ । सामाजिक र धार्मिक कर्म पूरा भएको छ । तर, उनको मनभित्रको आँधी भने अझै रोकिएको छैन ।

‘मेरो दुःखमा मल्हम लगाउनेहरूप्रति सधैँ ऋणी रहनेछु’

सर्वस्व गुमाउँदाको पीडाबीच पनि पौडेलले आफूलाई सम्झिने, सान्त्वना दिने र सहयोग गर्नेहरूप्रति भने गहिरो कृतज्ञता व्यक्त गरेका छन् ।

मोबाइल, सामाजिक सञ्जाल र प्रत्यक्ष भेटेर आफूलाई सम्झिनेहरूको हरेक शब्द र ढाडस अन्धकारमा सानो दियो बनेको उनले बताएका छन् ।

‘तपाईंहरूको हरेक एउटा शब्द र ढाडस मेरो लागि यो अन्धकारमा एउटा सानो दियो बनेको छ,’ उनले लेखेका छन् ।

दुःखमा साथ दिनेहरूको तस्वीर आफूले मनको कुनामा सधैँका लागि सजाएर राखेको भन्दै पौडेलले उनीहरूप्रति आफू जीवनभर ऋणी रहने बताएका छन् ।

तर, आफन्त गुमाएको पीडा र राज्यको अनुपस्थितिको अनुभूति भने उनको अभिव्यक्तिमा अझ गहिरो गरी देखिन्छ ।

‘अरूको सामान्य दुःखमा पनि भक्कानिने मेरो यो कमजोर मनमा आज आफ्नै परिवार गुमाउनु पर्दाको पहाडजत्रो पीडा छ,’ उनले लेखेका छन् ।

आँसु थाम्ने प्रयास गरे पनि बाढीले बगरमा परिणत गरेको गाउँको तस्बिर आँखाअघि आउँदा आफू सम्हालिन नसक्ने उनले बताएका छन् ।

राज्यप्रति अपेक्षा सकियो, तर हार मान्ने छैनन्

परिवारका सदस्य मात्र होइन, घरबार र सम्पत्तिसमेत गुमाएका पौडेलले सरकारसँग अब कुनै अपेक्षा बाँकी नरहेको बताएका छन् ।

तर, यही निराशाबीच पनि उनले आफूलाई सम्हाल्ने प्रयास गरिरहेका छन् ।

‘सरकारसँग त अब मेरा कुनै अपेक्षा बाँकी रहेनन्,’ उनले भनेका छन् ।

राज्यको उपस्थिति नदेख्दा झनै रित्तो महसुस भएको बताउँदै उनले विपत्तिमा नागरिकले राज्यलाई किन अभिभावकका रूपमा खोज्छ भन्ने अनुभूति आफ्नै जीवनबाट गरिरहेको संकेत गरेका छन् ।

प्राकृतिक विपत्तिले सर्वस्व गुमाएका बेला राहतको रकम वा भौतिक सहयोगभन्दा पनि राज्यको उपस्थिति र भरोसाले पीडितलाई ठूलो अर्थ राख्छ । तर, आफूले त्यो अनुभूति गर्न नसकेको पौडेलको अभिव्यक्तिले विपद्पछिको सरकारी उद्धार, राहत र पुनःस्थापनामाथि प्रश्न उठाएको छ ।

उनको पीडा व्यक्तिगत हो, तर प्रश्न भने सामूहिक छ, विपत्तिमा नागरिकले राज्य कहाँ र कति महसुस गर्न पाउँछ ?

यति ठूलो पीडाबीच पनि पौडेलले जीवनसँग हार नमान्ने संकल्प गरेका छन् ।

आफ्ना परिवारका पाँचै जना सदस्यको सम्झनालाई नै आफ्नो शक्ति बनाएर पुनः उठ्ने उनले बताएका छन् ।

‘म हार्ने छैन,’ उनले लेखेका छन्, ‘मेरा पाँचै जना प्यारा सदस्यहरूको सम्झनालाई शक्ति बनाएर म पुनः आफ्नै प्रयासमा उठ्ने संकल्प गर्दछु।’

शरीर शिथिल भए पनि र मन छियाछिया भए पनि बाँच्न र फेरि उठ्न आफूलाई बलियो बनाइरहेको उनको भनाइ छ ।

भोटेकोशीको बाढीले उनको परिवार खोस्यो। घर खोस्यो । सम्पत्ति खोस्यो । बाल्यकालको थलो खोस्यो । तर, जीवनप्रतिको उनको संकल्प भने अझै बाँकी छ ।

उनले अन्त्यमा आफूलाई कठिन घडीमा सम्झिने सबैप्रति पुनः आभार व्यक्त गरेका छन् ।

‘तपाईंहरूको माया नै मेरो बाँकी जीवनको सहारा बन्नेछ,’ पौडेलले लेखेका छन् ।

भोटेकोशीको त्यो बगरमा अहिले उनको घर छैन । परिवार छैन । पुरानो संसार छैन । तर त्यही बगरबाट बाँकी जीवन फेरि सुरु गर्ने संकल्प भने उनले गरेका छन् ।

उनको कथा एउटा परिवारको अन्त्यको कथा मात्रै होइन; विपत्तिमा आफन्त, घर र भविष्य गुमाएका नागरिकको पीडा, राज्यबाट खोजिएको भरोसा र असह्य दुःखबीच पनि बाँचिरहने मानवीय साहसको कथा हो ।

प्रकाशित मिति : September 9, 2026 at 6:45 am